गुरुङ विशेष

‘गुरूङ ड्रेस फोटो कन्टेस्ट’को उपाधि स्याङ्जाका चन्द्रलाई

धादिङबेंसी । धादिङमा भएको ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’को उपाधि स्याङ्जाका चन्द्र गुरुङले जितेका छन्। नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ धादिङले आयोजना गरेको पोसाक प्रतियोगितामा देश तथा विदेशबाट ३४२ वटा फोटोलाई लाइक, कमेन्ट, सेयर र पहिरनको आधारमा पछि पार्दै स्याङ्जाका चन्द्रको फोटोले उपाधि जितेको हो।

प्रतियोगितामा चितवनकी अंकिता गुरुङ फर्स्ट रनरअप, लम्जुङका अनिल गुरुङ सेकेन्ड रनरअप र धादिङकी प्रतिभा गुरुङको फोटोले थर्ड रनरअपको उपाधि पाएको छ।

तमू ल्होसारको अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरुलाई पनि गुरुङ पोषाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको नेपाल तमू विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवम् प्रतियोगिताका संयोजक रेखबहादुर गुरुङले जानकारी दिए।

सामाजिक सन्जाल फेसबुकमा आएका लाइक, कमेन्ट, सेयर र बान्की पूरा गरेर लगाएको आधारमा विजेता घोषणा गरिएको उनले बताए। कार्यक्रमकै अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो।

गुरुङ समुदायको कला, संस्कृति र भेषभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश विदेशमा गुरुङ भेषभूषाको प्रचार भएको उनले बताए। त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेको उनले बताए। ‘यसले बालबालिका र युवाहरूलाई आफ्नो जातिको भेषभूषाप्रतिको मोह जाग्न प्ररित गरेको छ,’ उनले भने।

करिब ३ महिनाको मिहिनेतपश्चात सम्भवत: धादिङमा पहिलोपटक ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट सञ्चालन गरिएको उनले बताए।

डिजिटल सञ्चारको माध्यमबाट आयोजना गरिएको प्रतियोगिताले विभिन्न जातजातिहरुसँग भावनात्मक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङले बताए।

सीमित स्रोतसाधानको प्रयोगबाट गुरुङ जातिको पोसाक संरक्षण, सम्वर्द्वन र प्रवर्द्वनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरुङले बताए। सामाजिक सञ्जालको सही सदुपयोगबाट पनि समाज रूपान्तरण गराउन सकिने सन्देशको विकास भएको उनले बताए।