गुरुङ विशेष

लण्डनमा तमू धीँ युकेको रजत महोत्सव

महासचिव डा विशाल गुरुङद्वारा ‘तमू प्रतिभा पुरस्कार–२०२४’ घोषणा

लण्डन । तमू धीँ युकेले २८ डिसेम्बर २०२४ मा रजत महोत्सवसहित तमू ल्होसार/ल्होछार मनाएको छ। क्राइस्ट चर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा संस्था स्थापनाको २५औं वर्षगाँठसँगै तमू ल्होसार/ल्होछार मनाएको हो।

कार्यक्रममा डा हर्क गुरुङ अवार्ड वितरण, संस्थाको मुखपत्र ‘फ्रेंसी’ विमोचन, हरि गुरुङ नेतृत्वको १२औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ र नवनिर्वाचित आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ नेतृत्वबीच कार्यभार हस्तान्तरण, रजत महोत्सवको गीत सार्वजनिक, राफल ड्र, तमू धीं यूकेका संस्थापक पूर्वअध्यक्ष, पूर्वअध्यक्ष, विभिन्न इकाइमा योगदान दिनेहरू, कम्युनिटी सर्भिस अवार्डलगायतका कार्यक्रमसहित बधाई तथा सम्मान गरिएको तमू धीं युकेले जनाएको छ।

तमू धीँ युकेका अध्यक्ष हरि गुरूङका अनुसार यस वर्ष डा हर्क गुरुङ अवार्ड जीसीएसी उत्कृष्ट अङ्क ल्याउने लम्जुङ पुर्ख्यौली घर भई हाल वेलायतमा रहेकी अम्बिका गुरुङले प्राप्त गरेकी छन्। उनलाई नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीमार्फत संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र पाँच सय पाउन्डको चेक हस्तान्तरण गरे।

संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मेजर लालबहादुर गुरुङ, सुवाससिंह गुरुङ बीईएम, मुक्षेत्र गुरुङ, कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजङ्ग गुरुङ, हितकाजी गुरुङलगायतलाई सम्मान गरियो।

यस्तै संस्थापक सल्लाहकार, चन्द्रबहादुर गुरुङ, आशबहादुर गुरुङ, मिनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङलगायत सदस्यहरूलाई पनि सम्मान गरिएको उनले बताए।

कम्युनिटी सर्भिस अवार्डतर्फ लन्डन इकाइबाट सिफारिस भएका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ, साउथ इस्ट रिजनल तमू धीं इकाइका ह्यारी गुरुङ, रन्जु घोताने, चारभन्ज्याङ तमू समाज यूकेबाट मास्टर प्रदीपजङ गुरुङ र अनमोल गुरुङल सम्मानित भएका छन्।

अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्यअनुरुप संस्थाको तर्फबाट महासचिव डा विशाल गुरुङले ‘तमू प्रतिभा पुरस्कार–२०२४’ घोषणा गरेका छन्।

यस वर्ष उक्त पुरस्कार राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ (धादिङ) र प्याराग्लाइडर युकेश गुरुङ (कास्की)लाई प्रदान गरिने आयोजकले जनाएको छ। नगद ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष मनाइने ल्होसार/ल्होछार कार्यक्रममा वितरण गरिने तमू धीं युकेले जनाएको छ।

तमू धीं युकेको मुखपत्र ‘फ्रेसी’को लोकार्पणसँगै ल्होसार/ल्होछार रजत महोत्सवको गीतसमेत सार्वजनिक गरिएको थियो। मिनप्रसाद गुरुङको परिकल्पनामा तयार भएको गीतमा वरिष्ठ समाजसेवी तथा शिक्षाविद् एकेन्द्र गुरुङको शब्द, ममता गुरुङ र राज गुरुङको आवाज तथा साजन गुरुङले संगीत दिएका छन्।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ, आश्रम गुरुङ, सज्जा चौलागाईं र ब्यान्डसहित तृष्णा गुरुङले सांगीतिक धमाका मच्चाएका थिए। गुरुङ मौलिक पोसाकमा सजिएका गुरुङ, गुरुङसेनी र गैरगुरुङ समुदायले हलचल मच्चाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि दुवाडीले ल्होसार/ल्होछार रजत महोत्सवको शुभकामना सन्देश दिँदै तमू धीं युकेको प्रशंसा गरेका थिए। त्यस्तै विशेष अतिथि तमू धीं नेपालका अध्यक्ष हुम गुरुङले तमूहरूको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले राज्यले गर्नुपर्ने काम तमू धीं युकेले गरिरहेको बताए।