- कुमार गुरुङ
बुटवल । ‘तमू थातथलोको संरक्षण र सम्बर्द्वनका लागि मौलिक पहिचानको आव्हान, सरकारी कामकाजी भाषा तमू भाषाको घोषणाका लागि तमूवानको आन्दोलन’ भन्ने मूल नाराका साथ तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले सप्रील्हो (सर्प वर्ग)को अवसरमा बृहत् झाँकीसहितको शान्ति र्याली सम्पन्न गरेको छ।
पुष्पालाल पार्कबाट सुरु भएको झाँकीसहितको र्यालीले नगर परिक्रमा गर्दै परिषदको प्राङ्गण रामनगर आइपुगेको थियो। त्यसपछि भएको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवं पूर्व शहरी विकास मन्त्री सीता गुरुङले गुरुङ जातिहरु भाषा, संस्कार, संस्कृति र रीतिरीवाजहरुमा धनी भएकोले सबै गुरूङहरुलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताइन्।
समग्र आदिवासी जनजातिको आधिकार र पहिचानका लागि गुरुङहरुले आफ्नो ठाउँबाट एकजुट भएर राज्यसँग लड्नु पर्ने बताइन्। आफू शहरी विकास मन्त्री हुँदा तमू ह्युल छोँज धीँ जिल्ला समितिको प्राङ्गणमा बन्दै गरेको तमू सङ्ग्रहालयका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेर काम गरेको उनले बताइन्।
आगामी दिनमा पनि केन्द्र सरकारबाट सहकार्य गरेर सङ्ग्रहालयको लागि सहयोगमा पहल गर्ने उनको भनाइ छ।
तमू ह्युल छोँज धीँका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्त भीम गुरुङ, केन्द्रीय सचिव जिएस गुरुङ, केन्द्रीय सदस्य एवं प्रदेश प्रमुख झप्पट गुरुङ, केन्द्रीय सदस्य दीपक गुरुङ, तमूस्यो ह्युल छोँज धीँकी केन्द्रीय अध्यक्ष टिचन गुरुङ, तमू ह्युल छोँज धीँका नगर समिति अध्यक्ष बुद्धिप्रसाद गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।
दीपनगर इकाइ प्रथम
तमू ल्होसारको अवसरमा आयोजना गरेको इकाइस्तरीय नृत्य प्रतियोगितामा दीपनगर इकाइ समिति प्रथम भएको छ। रामनगर इकाइ समिति द्वितीय र खेमा समाज देवदहले तेस्रो स्थान हासिल गरेको छ। प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्। इँटाभट्टी इकाइ समिति बुटवलले भने सान्त्वना स्थान हासिल गर्दै एक हजार पाँच सय रूपैयाँ प्राप्त गरेको छ।
कूल दश वटा इकाइको सहभागिता रहेको प्रतियोगितामा गायक तथा नायक धनबहादुर गुरुङ, मम आइडल विजेता कृष्णकुमारी गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
यस्तै भेषभूषा र संस्कार, संस्कृति झल्किने गरी प्रदर्शन गरिएको शान्ति र्यालीमा दीपनगर इकाइ समितिले उत्कृष्ट स्थान हासिल गर्दै नगद दश हजार नगद राशिको पुरस्कार प्राप्त गरेको छ।
नगर समितिले प्रदान गर्दै आएको छात्रवृत्ति भने नहरपुर इकाइकी सुनिता गुरुङ, बँदेलपोखरी इकाइका प्रशान्त गुरुङ, रामनगर इकाइका सुसन गुरुङ, मैनानगर इकाइकी हिमानी गुरुङ, इटाभट्टी इकाइकी एलिजा गुरुङ र ज्योतिनगर इकाइकी अस्मिना गुरुङलाई प्रदान गरिएको छ। विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गर्दै आएको छात्रवृत्तिमा पोसाक, कापी र कलम वितरण गरिएको तमू ह्युल छोँज धीँ रूपन्देहीकी अध्यक्ष विमला गुरुङले जानकारी दिइन्।