गुरुङ विशेष

तमू धींद्वारा सम्मानित हुँदै सम्राट गुरूङ

पोखरा । ‘डा हर्क–डा चन्द्र सन्त उच्च शिक्षा सम्मान’ यसवर्ष पोखराका सम्राट गुरूङलाई प्रदान गरिने भएको छ। तमू ल्होसारको अवसरमा तमू धीं नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको उक्त सम्मान तमू ल्होसारको दिन अर्थात् पुस १५ गते प्रदान गर्न लागेको हो।

एसएलसी र प्लस टु तहको पढाइ सबलाइम माध्यमिक विद्यालयबाट विशिष्ट श्रेणीमा, उत्कृष्ट नतिजासहित ला ग्राण्डी इन्टरनेसनल कलेजबाट जनस्वास्थ्यमा स्नातक र कालिका बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर पूरा गरेका सम्राटले पृथ्वी नारायण क्याम्पसबाट एलएलबी अर्थात् कानुनमा स्नातक तह सर्वोत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेका छन्।

गोरखाली रेडियो १०६ मेघाहर्जमा ५ वर्ष कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेका सम्राटले युएसएडको आर्थिक सहयोगमा सिआइएल नेपालको प्रोजेक्टमा कार्यक्रम अधिकृतको रूपमा समेत काम गरिसकेका छन्। साथै गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख पृथ्वीमान गुरूङको सचिवालयमा सह–स्वकीय र प्रमुख स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

आध्यात्म, दर्शन, वातावरण, संस्कृत र अनुसन्धानमा विशेष रूचि राख्ने गुरूङ हाल काठमाडौंमा अध्ययन र अनुसन्धानमा सक्रिय छन्। बौद्ध दर्शनमा एमफिल/पिएचडी गर्ने तयारीमा रहेका उनी सामाजिक कार्य र प्राज्ञिक अनुसन्धानमा समेत सक्रिय छन्।

सम्राट हाल गुरूङहरुको महत्त्वपूर्ण संस्था, गुरूङ साहित्यिक मञ्च नेपालको महासचिव र तमू (गुरूङ) सञ्चारकर्मी संघ, कास्कीका सचिव पदमा छन्।