वेलायत । तमू समाज युकेले सप्री ल्होछार/ल्होसारको पूर्वसन्ध्यामा ग्रह शान्ति एवम् शुद्धिकरण पूजा गरेको छ। तमूहरुको महान पर्व ल्होछार/ल्होसारको अवसरमा Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर फानबोरोका प्रमुख लामा ड्रुब्ला गुरुद्वारा ग्रहशान्ति गर्नुका साथै शुद्धिकरण पूजा आयोजना गरेको हो।
पूजाले यसवर्ष भरीको नराम्रो तत्त्वहरुलाई फालेर आउने नयाँ ल्होमा राम्रो हुने विश्वास गरिएको छ। वर्षभरीमा सुख, शान्ति, समृद्धि, लाभ, स्वस्थ हुनेलगायतको विश्वास गरिन्छ। २८ डिसेम्बर २०२४, शनिबारका दिन बिहान १० बजेदेखि ४ बजेसम्म पूजा सञ्चालन गरेको थियो। तमू समाज युके नेप्लिज कम्युनिटी सेन्टर, बारहाम पार्क सडबरीमा पूजा कार्यक्रम गरिएको तमू समाज युकेकी अध्यक्ष विन्दु गुरूङ घलेले जानकारी दिनुभयो।
हरिमान गुरूङ र आमा समूहकी अध्यक्ष विमला गुरूङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा तमू समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरूङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरूङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरूङ, बार्नेट बरोका काउन्सिलर कमल गुरूङ, कार्यसमितिका पदाधिकारी, आमा समूहका पूर्वअध्यक्ष माया गुरूङ, निवर्तमान आमा अध्यक्ष उमा गुरूङ साथै सल्लाहकारसहित थुप्रै व्यक्तिहरुको उपस्थिति थियो।
पूजा गरेपश्चात् ४ जनवरी २०२५ का दिन ह्यारो लेजर सेन्टर लण्डनमा तमू ल्होसार/ल्होछार मनाउने कार्यक्रम रहेको समाजकी अध्यक्ष विन्दु गुरूङ घलेले जानकारी दिनुभयो। तमू समाज युकेमा हाल पाँच सयभन्दा बडी आजिवन सदस्यहरु आवद्ध छन्।