गुरुङ विशेष

पत्रकार घना गुरूङ र करिश्मा गुरूङलाई तमू प्ये ल्हु संघ चितवनको पुरस्कार

चितवन । तमू प्ये ल्हु संघ चितवनले दुई पत्रकारलाई पुरस्कृत गरेको छ। तमू ल्होसार पर्वको अवसरमा शनिबार भरतपुर–११, नौरङ्गे क्होइबोमा आयोजित कार्यक्रममा करिब दुई दशकदेखि चितवनको सञ्चारमाध्यममा प्राविधिकको रूपमा कार्यरत घना गुरूङ (धनबहादुर)सँगै देवघाटकी पत्रकार करिश्मा गुरूङलाई नगदसहित पुरस्कृत गरेको हो।

घना गुरूङ रोधीं प्लस डिजिटल टेलिभिजनको चितवन संवाददाता र नारायणी अनलाइनमा डिजिटल सम्वाददाता तथा भिडियो सम्पादकको रूपमा कार्यरत छन्। करिश्मा गुरूङ भने देवघाटबाट सञ्चालित बिहानी मिडिया डटकममा समाचार संयोजकको भूमिकामा कार्यरत छिन्। उनीहरुलाई सम्मानपत्र र दोसल्लासहित पुरस्कार प्रदान गरिएको थियो।

तमू समुदायको उत्थानको लागि सञ्चारमाध्यममार्फत खेलेको भूमिकालाई मूल्याङ्कन गरेर यसपटकदेखि हरेक वर्ष सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए। उनका अनुसार सोही अवसरमा तमू प्ये ल्हु संघ चितवनका पूर्वअध्यक्ष लालप्रसाद गुरूङ र पूर्वसचिव नारायण गुरूङलाई समेत सम्मान गरिएको थियो।

संस्था सञ्चालनको लागि विभिन्न भूमिकामा रहेर योगदान दिएवापत उनीहरुलाई सम्मान गरिएको अध्यक्ष तमूले बताए । यस्तै संस्था सञ्चालनको लागि विभिन्न समयमा आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरेको थियो। यसपटकको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.७ का जनप्रतिनिधिसमेत रहेका मिनबहादुर गुरूङले संस्थाको लागि एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेका थिए।

गुरूङ समुदायमा प्रचलित मौलिक सांस्कृतिक प्रस्तुतिसहित सञ्चालित तमू ल्होसार कार्यक्रममा वक्ताहरुले सबै तमू समुदाय एकताको सूत्रमा रहेर काम गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा तमू ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार चन्द्रमान गुरूङ, केन्द्रीय अनुगमन समितिका सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका पूर्वअध्यक्ष पदमबहादुर गुरूङ, तमू प्य ल्हु संघ चितवनका पूर्वअध्यक्ष जगतबहादुर गुरूङलगायतका तमू अगुवाहरुले मन्तव्य दिएका थिए।