कभर स्टोरी

हङकङको जिल्ला परिषद्मा अरूणा गुरूङ

  • मनिराज गुरुङ  

 कास्कीको ताङतिङका अरुणा गुरुङ हङकङको जिल्ला परिषद् सदस्य चयन हुनुभएको छ। जातीय अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा जिल्ला परिषद् सदस्य पदमा पुग्ने अरुणा पहिलो हुनुहुन्छ। उहाँ सन् २०२४–०२७ का लागि जिल्ला परिषद् सदस्य नियुक्त हुनुभएको हो।

१२ डिसेम्बर २०२३ मा अरुणा याउचिम मोङ जिल्लाका लागि जिल्ला परिषद् सदस्य नियुक्त हुनुभएको हो। नेपालीहरूको बाक्लो बसोबास रहेको याउमातेइ र जोर्डन क्षेत्र याउचिम मोङ जिल्लामा पर्छ।

जातीय अल्पसङ्ख्यक समुदायलाई लक्षित गर्दै सरकारको अङ्गमा समावेश गर्न सरकारले यसरी नियुक्त गर्ने गरेको छ। तर जिल्ला परिषद्मा नेपालीको नियुक्ति भएको भने यो नै पहिलो हो। गैरचिनियाँ अल्पसङ्ख्यक समुदायबाट अहिले गुरुङ एक्लो प्रतिनिधि हुनुहुन्छ।

हङकङको जातीय अल्पसङ्ख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै सरकारले अरुणालाई जिल्ला परिषद् सदस्यमा नियुक्त गरेको बताइएको छ। यसअघि अरुणा गुरुङ करिब एक लाख डलर बराबरको ‘एथ्निक अचिभमेन्ट अवार्ड– २०२३’ जित्न सफल हुनुभएको थियो।

हङकङको जातीय अल्पसङ्ख्यक समुदाय र विभिन्न क्षेत्रमा उहाँले गर्नुभएको सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै दि हङकङ फेडरेसन अफ कमर्स फर स्मल एण्ड मिडियम इन्टरप्राइजेजले उहाँलाई अवार्ड प्रदान गरेको थियो।

इन्टरप्राइजेजको ‘एथ्निक अचिभमेन्ट अवार्ड– २०२३’ आयोजक समितिले दश लाख हङकङ डलर बराबरको अवार्ड विभिन्न क्षेत्रका ११ जनालाई प्रदान गर्ने निर्णय गरेको थियो। जसमा नेपाली समुदायबाट अरुणा गुरुङ छनोट हुनुभएको थियो।

त्यस्तै उहाँ हङकङ महिला अयोग र जातीय सद्भाव प्रवर्द्वन समितिको सदस्यसमेत रहनुभएको थियो भने पछिल्लो समय याउचिमोङ डिस्ट्रिकको फायर सेफ्टी कमिटी सदस्यका रूपमा पनि सक्रिय हुनुहुन्थ्यो।

स्थानीय क्यान्टोनिज भाषामा पोख्त अरुणा सन् २०१२ मा हङकङ सरकारको ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’बाट पनि सम्मानित हुनुभएको थियो। ३२ वर्षसम्म हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा काम गरेपछि उहाँले ‘इन्फ्लाइट सर्भिस् म्यानेजर’ पदबाट अवकाश लिनुभएको थियो।

नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।