कास्की । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समितिअन्तर्गत तमू भाषा तथा साहित्य विभागको केन्द्रीय बैठकले केन्द्रीय समिति मातहतका केन्द्रदेखि वडासम्मका संस्थाको बोर्ड, हरेक कार्यक्रमका लागि बनाइने ब्यानर तथा लेटर प्याडहरुमा तमू भाषाको खेमा लिपिलाई अनिवार्यरुपमा प्रयोग गर्ने/गराउने विषयमा निर्णय गरेको छ।
पोखरामा सम्पन्न उक्त बैठकले भाषा संरक्षणको लागि संस्थागतरुपमै प्रयास थाल्नुपर्ने भन्दै सार्वजनिक स्थानमा देखिने प्रचार सामग्रीमा खेमा लिपिलाई अनिवार्य समावेश गर्ने निर्णय गरेको हो।
बैठकले गुरुङहरुको कुनै पनि सभा तथा सम्मेलन सञ्चालन गर्दा तमू भाषाकै प्रयोग गर्ने र आवश्यक परे दोभाषेको समेत प्रयोग गर्ने निर्णय गरेको तमू भाषा खेमा लिपिका अभियन्ता एवम् समितिका सहसंगोजक भीम तमूले जानकारी दिनुभयो।
साथै भाषा तथा साहित्य विभागको कार्यक्रम सञ्चालन तथा छलफल पनि सकेसम्म आफ्नै भाषामा गर्ने निर्णय भएको उहाँले बताउनुभयो। भाषा तथा साहित्य विभागको हरेक गतिविधि सञ्चालन गर्न भाषा तथा साहित्य सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न छुट्टै कोष सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। त्यसका लागि मातृसंस्था मातहत रहने गरी अक्षयकोष सञ्चालन गरिने उहाँको भनाइ छ।
खेमा लिपिको युनिकोडलाई अझ परिस्कृत गर्दै एउटा सूचना प्रविधिको समूह गठन गरेर कार्यसञ्चालन गर्नको लागि पनि मातृ संस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ। विभागले तत्काल गण्डकी प्रदेशमा तमू भाषाको लिपि तथा तमू साहित्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण आयोजना गर्ने र क्रमशः सबै प्रदेशमा यस्तो खालको कार्यक्रम गर्ने निर्णय गरेको उहाँको भनाइ छ।
तमू भाषाको लिपि तथा साहित्य विभाग संयोजक आरबी तमूले तमू जातिको पहिचानको मुख्य विषय नै भाषा भएकोले यसको संरक्षण तथा सम्वर्द्धन गर्ने दायित्व पनि तमू ह्युलसँग रहेको बताउनुभयो। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्षसमेत रहनु भएका उहाँले तमू भाषा लिपि र तमू साहित्यको विकासमा जोड दिँदै आएको बताउनुभयो।
यसको लागि संस्थाले अक्षय कोष स्थापना गर्ने तयारी गरेको समेत उहाँले बताउनुभयो। उक्त बैठकमा तमू भाषा तथा संस्कृतिका अभियन्ता ठाकुरजङ्ग तमू, भाषा अभियान्ता लिल तमू, तमू ह्युल छोंज धींका केन्द्रीय सदस्य मिलन तमू, तमू साहित्यिक मञ्चका संस्थापक अध्यक्ष गौरी तमू, नेपाल तमू विद्यार्थी छोंज धींका केन्द्रीय महासचिव युवराज तमू, तमू ह्युल छोंज धींका गण्डकी प्रदेश सचिव खिमा तमू, तमू ह्युल छोंज धीं कास्कीका सीता तमू, जीत तमू, प्रचण्डशक्ति तमू, सरिता तमूलगायतका व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो।