गुरुङ विशेष

तमू प्ये ल्हु संघ हङकङमा ह्याट्रिक गरेका मनबहादुर गुरुङ

  • चित्र ‘सोल्टी’ गुरुङ 

गुरुङहरूको मौलिक धर्म संस्कार र संस्कृतिमा क्रियाशील गुरुङहरूको संस्था तमू प्ये ल्हु संघ हङकङमा मनबहादुर क्रोम्छै तमूले तेस्रो कार्यकाल सम्हालिइरहनुभएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ धिताल गाउँ ह्याङ्यजाकोटमा २०२९ असोज २१ गते बुवा मिनबहादुर र आमा लालकुमारीेको सन्तानको रूपमा जन्मनुभएका उहाँ विदेशमा बसेर पनि सामाजिक संघसंस्थामा लामो समयदेखि सक्रिय हुनुहुन्छ।

फलस्वरूप उहाँले संस्थाको अध्यक्षमा ह्याट्रिक नै गर्नुभएको छ। श्रीमती र दुई छोरीका अभिभावकसमेत रहनुभएका मनबहादुर खेलकुद र सामाजिक सेवामा बढी रुची राख्नुहुनछ। एसएलसीसम्म औपचारिक शिक्षा लिनुभएको उहाँले अध्ययनपश्चात करिब १४ वर्ष बराह मावि भिडाबारी धिताल गाउँमा शिक्षण गर्नुभयो।

खेलकुदको क्षेत्रबाट समाजमा योगदान दिने उद्देश्यसहित उहाँ हेण्डबलको गण्डकी प्रदेशको टिम क्याप्टेनसमेत हुनुभयो भने भलिबल खेलको राष्ट्रिय रेफ्रीसमेत बन्नुभयो। रोजगारीको सिलसिलामा सन् २००५ मा हङकङ प्रवेश गर्नुभएका उहाँ उतिबेलादेखि नै तमू प्ये ल्हु संघमा आबद्ध हुनुभयो।

सामाजिक कामप्रतिको लगावले गर्दा नेपालमा रहँदै उहाँले २०४५ सालदेखि जय बराह युवा क्लवमार्फत समाज परिवर्तनमा योगदान दिनुभयो। प्ये ल्हु संघ हङकङमा ९ वर्ष सचिव पद सम्हाल्नुभएका उहाँले चार वर्ष उपाध्यक्ष भएर काम गर्नुभयो।

जसको परिणामस्वरूप सन् २०१७ मा उहाँ संस्थाको अध्यक्षमा चयन हुनुभयो। सामाजिक कामप्रतिको लगाव र नेतृत्व गर्न सक्ने क्षमताकै आधारमा उहाँले निरन्तर तेस्रोपटक संघको नेतृत्व सम्हाल्ने अवसर पाउनुभयो।

उहाँको नेतृत्वमा रहेको संघले गुरुङ समुदायको मौलिक धर्म, संस्कार र संस्कृति संरक्षणमा उल्लेखनीय योगदान दिँदै आएको छ। तर, पछिल्लो समय समाजमा फैलिँदै गएको विकृतिप्रति भने उहाँ चिन्तित हुनुहुन्छ। समुदायको प्ये ताँ ल्हु ताँलाई पछिल्लो पिढींले वास्ता नगर्दा पहिचान नै हराउँदै जाने हो कि भन्ने चिन्ता लागेको उहाँ बताउनुहुन्छ।

‘हाम्रो प्ये ताँ ल्हु ताँ संरक्षणमा युवाहरूको सहभागिता कम हुँदै गर्दा भूपू सैनिकको पुस्ता सकिएपछि संस्था नै नचल्ने पो कि भन्ने लाग्छ,’ उहाँले भन्नुभयो। समयानुकूल प्ये ताँ ल्हु ताँमा भएका राम्रा कुराहरूलाई अंगिकार गरी नराम्रा कुराहरूलाई हटाउँदै जाने र युवा पुस्तालाई अगाडि बढाउनमा उत्प्रेरित गर्नुपर्ने उहाँको बुझाइ छ।

नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।