- मच्छे गुरुङ
तनहुँ बन्दिपुर गाउँपालिका झारगाउँमा जन्मनुभएका ओमबहादुर गुरुङ पेशाले इन्जिनियर हुनुहुन्छ। विद्यार्थी भिसामा सन् २००१ मा अमेरिका आउनुभएका गुरुङले सिम्प्सन कलेज आयोवाबाट कम्प्युटर साइन्समा स्नातक तथा साउदर्न न्यूह्याम्प्साइर युनिभसिटीबाट एमबीए (स्नातकोत्तर) गर्नुभएको छ।
विगत २२ वर्षदखि अमेरिकालाई कर्मथलो बनाएर परिवारसँगै बस्दै आउनुभएका गुरुङ सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। सन् २०१६ सालदेखि गुरुङ समुदायको हकहित र समुदायको सहयोगका लागि स्थापित द गुरुङ (तमू) सोसाइटी इंक, युएसएमा आवद्ध भएसँगै सामाजिक कार्यमा उहाँको सक्रियता बढेको हो।
मिडियाकम केवल कम्पनीमा सिनियर नेटवर्क इन्जिनियरका रूपमा कार्यरत गुरुङ अहिले अमेरिकामा रहेका गुरुङ समुदायको सबैभन्दा पुरानो संस्था द गुरुङ (तमू) सोसाइटी इंक, युएसएको अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ।
२०१६ मा सोसाइटीमा आवद्ध उहाँ सन् २०१७ मा आजीवन सदस्य बनेपछि २०१७ मा कार्यसमिति सदस्य, २०१९ देखि २०२१ तथा २०२१ देखि २०२३ सम्म कोषाध्यक्षको जिम्मेवारी बहन गर्दै २०२३ देखि २०२६ कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न सफल हुनुभएको हो।
साधारण सदस्य हुँदै सोसाइटीमा निरन्तररूपमा सक्रिय रही अध्यक्षको जिम्मेवारीमा पुग्नुभएका ओम युुवाहरूका एक प्रतिनिधि पात्र हुनुहुन्छ। कलेज तथा युनिभर्सिटीको पढाइसकेपछि अधिकांश युवा आफ्नो पेशामा केन्द्रित हुन्छ्न, तर ओम भने युवा पुस्तालाई समेटेर जानको लागि आफु सहभागी भएर समाजका लागि समर्पित भएर लागे मात्र अरुलाई प्रोत्साहन गर्न सकिने भएकोले निरन्तररूपमा सामाजिक काममै केन्द्रित हुने गरेको बताउनुहुन्छ।
उहाँ अहिले पनि अधिकांश समय सामाजिक कार्यमै व्यस्त हुनुहुन्छ। गुरुङहरूको भाषा, भेषभूषा, धर्म, संस्कार, संस्कृति र परम्परालाई संरक्षण र संवर्द्वन गर्दै नयाँ पिढीलाई सिकाउँदै र संस्कार संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानको लागि समाज नै एउटा महत्त्वपूर्ण माध्यम भएकोले आफु समाजकै लागि व्यस्त हुने गरेको उहाँ बताउनुहुन्छ।
एकतामा नै बल हुने भएकाले गुरुङ समुदायलाई एकै ढिक्का भएर अघि बढाउनका लागि सबैलाई समाजसँग आवद्ध हुनुपर्ने उहाँको तर्क छ। अमेकिामा रहेका नेपाली समुदायलाई अझ बलियो बनाउन र एक अर्कालाई सहयोग गर्दै नेपाली समुदायलाई अगाडि बढाउँदै लैजान पनि आफू समुदायप्रति आवद्ध रहेको बताउनुहुन्छ गुरुङ।
अमेरिकामा रहेका नेपलीलाई अमेरिकन जीवनशैली अपनाउनका लागि त्यति सजिलो छैन, त्यसैले समुदाय स्तरमा विभिन्न कार्यक्रम गरी स्थानीय सरकारदेखि राज्यस्तरसम्म नेपाली समुदाय र नेपालबारे जानकारी गराउन जरुरी रहेको उहाँ औंल्याउनुहुन्छ।
विद्यालय तथा कलेज तहमा पुगेका बालबालिका तथा नयाँ पुस्तालाई तमू स्कुल युथ क्लबमार्फत् समाजमा समेटेर क्षमता अभिवृद्धि तथा सांस्कृतिक कार्यक्रम गरी समुदायसँग जोड्नुपर्ने उहाँको बुझाइ छ। एक छोरा, एक छोरी र श्रीमती डा सुलोचना गुरुङसहित संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका उहाँ युवाहरूका लागि एक उदाहरणीय पात्र हुनुहुन्छ।
नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।