- किरण गुरुङ
गुरुङ समुदाय क्होलासोंथरबाट समयानुक्रमसँगै बसाइ गर्दै देशका विभिन्न क्षेत्रहरूमा जाने क्रममा आजसम्म आइपुग्दा विश्वभर फैलिएको छ। यद्यपि जो जहाँ रहे पनि गुरुङ समुदायको उत्थान, धर्म, संस्कार संस्कृति जगेर्ना गर्ने काममा जुटेकै छन्। जसको उदाहरण हामीले विभिन्न देशमा स्थापना भएका तमू समाजका संघसंस्थाहरूलाइ हेर्न सक्छौँ। त्यही संस्थाहरूमध्ये एक हो, ‘तमू समाज हाम्बर्ग’ जर्मनी।
यो संस्थाको नेतृत्वमा गत हील्होमा सुन्दर गुरुङ चयन हुनुभएको छ। बाबा नासु चिजकाजी गुरुङ र आमा खरकुमारी गुरुङको कोखबाट कास्कीको कालाबाङ घरेडी गाउँमा जन्मनुभएका उहाँ श्रीमती र दुई छोरीका साथ जर्मनमा बस्दै आउनुभएको छ। बाल्यकालदेखि नै अलि चञ्चले स्वभावको र नाचगान मन पराउने, गीत संगीत भनेपछि हुरुक्कै हुने स्वभावका सुन्दर वैदेशिक रोजगारीकै क्रममा सबै नेपाली युवाजस्तै सन् १९९४ मा जर्मनी पुग्नुभएको हो।
सुरुवातमा रोजगारीको क्रममा जर्मनीको एक रेष्टुरेण्टमा काम गर्न पुग्नुभएका उहाँ सुरुदेखि नै त्यहाँको तमू समाजमा आवद्ध हुनुभयो। सन् २००२ मा डोरबहादुर तमूको अध्यक्षतामा तमू समाज हाम्बर्ग जर्मनीको स्थापना भयो। सुरुदेखि नै समाजमा आवद्ध रहनुभएका उहाँ समाजको अध्यक्षमा गोपाल तमू, इमान तमू, ईन्द्रबहादुर तमू, लालबहादुर तमूपछि अहिले अध्यक्ष हुनुहुन्छ।
समाज सक्रिय भएदेखि नै सामाजिक सेवामा लागिरहुनभएका उहाँ र उहाँको संस्थाले सन् २०१२ मा सार्दीखोला, कास्कीको बाढी पहिरो, सन् २०१५ मा भूकम्प पीडितलाई, सन् २०१७ मा धुर्मुस–सुन्तली फाउन्डेसनलाई र सन् २०२३ मा जाजरकोट भूकम्प पीडितलाई सहयोग गरिसकेको छ।
त्यसबाहेक जर्मनीका विभिन्न सामाजिक कार्यहरूमा समेत संस्थागत हिसाबले पनि उहाँ संलग्न हुनुभयो। उहाँले (२०१६) नेपथ्य सांगीतिक कार्यक्रमको आयोजनासमेत गर्नुभएको थियो। त्यसो त जर्मनीको हाम्बर्ग शहरमा मात्रै लगभग चार हजार नेपाली छन्। र, त्यसमा तमूहरूको बसोबास लगभग ३५ घरधुरी छ।
नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।