टोकियो । तमू धीं जापानले ३०औँ ल्होसार/ल्होछार साँझ–२०२५ विभिन्न सांस्कृतिक कार्यक्रमसहित भव्यरुपले मनाउने भएको छ। मुप्रील्होलाई बिदाइ र सप्रील्होलाई स्वागत गर्दै ल्होसार/ल्होछार मनाउन लागेको तमू धीं जापानका अध्यक्ष हिमाली तमूस्योले जानकारी दिइन्।
तमू धीं जापान विगत तीन दशकदेखि जापानस्थित जापानी तथा नेपाली समुदायबीचमा रहेर विभिन्न आरोह अवरोह पार गर्दै लामो अनुभव र इतिहास कोर्दै अगाडि बढिरहेको संस्था हो। हरेक वर्ष आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभूषा र रितिरिवाज तथा चलनचल्तीलाई जगेर्ना गर्ने क्रममा यसवर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
तमू धीं जापानले पहिलोपटक लामा गुरु सन्दीप तमूबाट ग्रहशान्ति गर्ने कार्यक्रम सहेको अध्यक्ष तमूस्योले जानकारी दिइन्। साथै, पूजापाठसँगै विगतमा भन्दा यस वर्ष नयाँ तरिकाले ल्होसार/ल्होछार पर्व मनाउने तयारी गरिएको उनले बताइन्।
उनका अनुसार टोकियोको सिनागावास्थित ‘हाना एसियन डाइनिङ्ग रेष्टुरेन्ट’को सभाहलमा संस्थाका पूर्वअध्यक्ष तथा विशिष्ट पदाधिकारी, वर्तमान कार्यसमितिका सम्पूर्ण पधाधिकारीहरू सम्मिलित बैठकले सप्रील्होको अवसरमा यही जनवरी २ तारिखका दिन भव्य कार्यक्रम गर्ने निर्णय गरिएको हो।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु’ अर्थात् ‘शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ’ भन्ने तमू समुदायको विश्वव्यापी मान्यतालाई आत्मासाथ गर्दै भव्य कार्यक्रम आयोजना गरेर ल्होसार÷ल्होछार मनाउने तयारी गरिएको उनले बताइन्।
ल्होसार/ल्होछार कार्यक्रममार्फत् जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा सम्वर्द्वनमा टेवा पुर्याउने लक्ष्य लिइएको उनले बताइन्। साथै श्रष्टा सम्मानार्थ बरिष्ठ तमू चलचित्रकर्मी गमबहादुर तमू (गोरे दाइ) तथा नेपालबाट गायिका उषा तमूस्योसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमू जातिको मौलिक बाजामार्फत थप मनोरञ्जन प्रदान गरिने संस्थाका निवर्तमान अध्यक्ष रमेशकुमार गुरुङले जानकारी दिए। कार्यक्रममा विशेष मौलिक नृत्यसमेत देखाउने तयारी भइरहेको उनले बताए।
संस्थाकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सोममाया तमूस्योका अनुसार दिउॅंसो १२ देखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। साथै तमू धीं जापानले जापानमा रहेका सम्पूर्ण नेपाली, जापानमा रहेका सम्पूर्ण तमूहरुलाई कार्यक्रममा सहभागी भइदिनसमेत आग्रह गरेको छ।