सिन्धुली । २५७औँ सिन्धुलीगढी विजयोत्सव समारोहमा सिन्धुलीगढी युद्धका एक नायक सिकारी सरदार वंशु (वंश) गुरुङको सम्मानमा प्रकाशित स्मारिका वंशु गुरुङ विमोचन भएको छ ।
वंशुको पुख्र्यौली थलो शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर तनहुँमा स्थापित सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
कमलामाई नगरपालिकाले सिन्धुली गढी विजयोत्सवको अवसरमा कात्तिक २४ गते सिन्धुलीगढीमा आयोजित समारोहमा सो स्मारिका विमोचन गरिएको थियो ।
स्मारिका बिमोचन गर्दै नगर प्रमुख पोखरेलले सिन्धुलीगढीमा गोर्खाली सेनाले कम्पनी सरकारको सेनालाई पराजित नगरेको भए हामीले नेपाली भनेर गर्व गर्न पाउने अवस्था बन्थ्यो वा बन्दैनथ्यो केही भन्न नसकिने भन्दै सिन्धुलीगढीका सेना नायकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने बताए ।
उनले सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. लालजङ गुरुङसहित सदस्यहरु करिब एक दशकबाट सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागिता जनाउँदै आएकोसमेत स्मरण गरे ।
सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले प्रतिष्ठानलाई आयोजक कमलामाई नगरपालिकाबाट वर्सेनि कार्यक्रममा औपचारिक निम्तो आउने गरेकोमा गर्व व्यक्त गर्दै तनहुँको ढोर जस्पुरमा सिकारी सरदार वंशु गुरुङको शालिक स्थापना गरिएको जानकारी दिए ।
उनले प्रतिष्ठान दोस्रो स्मारिका प्रकाशन गर्न सफल भएको भन्दै अब आफूहरूको माग सिकारी सरदार वंशु गुरुङसहित सिन्धुलीगढी युद्धका सेना नायकहरूलाई राष्ट्रिय विभूति घोषणा रहेको बताए ।