चितवन । क्होइबो धीं निर्माणको लागि तमू प्ये ल्हू संघ चितवनले बृहत् सांस्कृतिक अभियान सुरु गरेको छ। जमिन खरिदसँगै क्होइबो निर्माणको लागि सांस्कृतिक कार्यक्रममार्फत लमजुङको पर्यटकीय गाउँ क्वहोलासोथार गाउँपालिका–४, भुजुङबाट अभियानको सुरूवात गरेको हो।
प्ये ल्हू संघ चितवनका अध्यक्ष विक्रम गुरूङको सभापतित्व तथा क्वहोलासोथार गाउँपालिका–४ का वडाध्यक्ष नारायण गुरूङको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रमको शुभारम्भ कार्यक्रम गरिएको हो। कार्यक्रममा प्ये ल्हू संघ चितवनका वरिष्ठ उपाध्यक्ष इन्द्रकुमारी गुरूङ, प्ये ल्हू संघका जिल्ला कार्यसमिति सदस्यहरु भुजुङका सबै टोलविकास संस्थाका संयोजकहरु, क्लब संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
प्ये ल्हू संघ चितवनका कलाकारहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रम प्ये ल्हू संघ चितवनका उपाध्यक्ष कृष्णबहादुर गुरूङ र विश्व गुरूङले सञ्चालन गरेका थिए।
अभियानअन्तर्गत प्ये ल्हू संघ चितवनले लमजुङकै क्वहोलासोथार गाउँपालिका–३ घलेगाउँमा कार्यक्रम सम्पन्न गरिएको संघका अध्यक्ष विक्रम गुरूङले जानकारी दिए। गुरूङ समुदायको धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि क्होइबो निर्माणार्थ सुरू गरिएको अभियान निरन्तर जारी रहने अध्यक्ष गुरूङले जानकारी दिए।