गुरुङ विशेष

२९ वर्षीय तेजनले गरे ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण

सानै उमेरमा ८ हजार मिटरभन्दा बढी उचाइ भएको १४ हिमाल आरोहण गर्ने गुरुङ समुदायको पहिलो व्यक्ति सावित भएका छन्।

काठमाडौं । सन् २०२२ मे २७ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणबाट हिमाल आरोहणको यात्रा थालेका पोखराका तेजन गुरुङले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका छन्।

इलाइट एक्सपेडिसनबाट निम्स पुर्जाको नेतृत्वमा गएका उनले नेपाली समयअनुसार बुधबार बिहान ५ बजे शीशपाङ्मा हिमाल आरोहण गरेसँगै गुरुङ समुदायबाटै पहिलोपटक आठ हजार मिटरभन्दा माथि उचाइ भएका १४ हिमालको सफल आरोहण गर्ने व्यक्ति सावित भएका छन्।

क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले गुरुङ समुदायबाट आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति भएको पुष्टि गरेका छन्।

तेजनले विश्वकै सर्वोच्च शिखर सगरमाथा, के–२, धवलागिरीलगायतका १३ हिमालको यसअघि नै सफलतापूर्वक आरोहण गरिसकेका थिए।

२९ वर्षीय तेजनको नेपालमा पुरानो घर स्याङ्जा पेल्काचौर भए पनि हाल पोखरास्थित रामघाट हो। ६ जिआरका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक तेजबहादुर गुरुङ र शुकु गुरुङका छोरा तेजन यतिबेला भने बेलायतको बेजिङ्स्टोकमा बस्छन्।