गुरुङ विशेष

तमू धीं नेपालको साधारण सभा सम्पन्न

पोखरा । तमू धीं नेपालले ४०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा सचिव जुनाकुमारी गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले गुरुङ जातिको कला, संस्कृति र भाषा बचाउन सबै लाग्नुपर्ने बताए। पुरानो पुस्ताबाट नयाँ पुस्तामा भाषा, कला, संस्कृति र संस्कार हस्तान्तरण गर्दै जानुपर्ने उनको सुझाव थियो।

यसका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा उनले बताए। तमू धीं नेपालको हरेक क्रियाकलापमा सधैं साथ र सहयोग रहनेसमेत उनले प्रतिवद्धता जनाए।

सोही अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)का नवनिर्वाचित कार्यसमिति, भूपू खेलाडी मञ्च नेपालमा निर्वाचन अध्यक्ष दिलबहादुर गुरुङ, सदस्य बालकुमारी गुरुङ, पोखरा उद्योग वाणिज्य संघका सदस्य आशिष गुरुङ, कास्की पोखरा हस्तकला संघ कास्कीका अध्यक्ष सीता गुरुङसहित तमू धीं नेपालअन्तर्गतका विभिन्न समितिलाई सम्मान गरिएको थियो।

उनीहरुलाई तमू धीं नेपाल, तमू धीं नेपालको केन्द्रीय आमा समिति, तमू धीं नेपालको युवा समिति र तमू कलाकार संघबाट संयुक्तरुपमा सम्मान गरिएको हो। पोखरा ९, नयाँबजारस्थित संस्थाको कार्यालयमा भएको कार्यक्रम तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।