गुरुङ विशेष

सकियो चितवनमा भएको तमू भाषा प्रशिक्षण

तमू जातिको पहिचानको लागि भाषा सिक्नु अनिवार्य

भरतपुर । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको दुईहप्ते ‘तमू भाषा प्रशिक्षण’ कार्यक्रम सकिएको छ। आइतबार तमू ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार वेलबहादुर गुरूङको उपस्थितिमा तालिमको समापन गरिएको हो।

समापन समारोहमा बोल्दै कमलदेवी बोर्डिङ स्कुलका प्रिन्सिपलसमेत रहेका गुरूङले चितवन जिल्लामा बसोवास गर्ने तमू समुदायलाई भाषाको ज्ञान छर्ने जिम्मा ह्युल छोंज धींले लिनुपर्ने बताए।

समुदायलाई पहिचान दिलाउनका लागि भाषा कक्षालाई नियमित गराउन सके आवश्यकता ठान्नेहरुलाई राम्रो अवसर हुने उनले बताए। ‘भाषा सिक्नका लागि औपचारिक कक्षा नै लिनुपर्छ भन्ने छैन। कतिपय अवस्थामा बोलेरै जानिन्छ, कतिपय अवस्थामा पढेर पनि जानिन्छ’, उनले भने, ‘तर भाषा सिक्न चाहनेहरुका लागि वातावरण हामीले सिर्जना गर्न सक्नुपर्छ।’

तमू ह्युल छोंज धीं गुरूङ जातिको साझा संस्था भएकोले जिल्लाभरका तमू समुदायले भाषा सिक्न चाहेको खण्डमा वातावरण मिलाइदिन सक्नुपर्ने उनको सुझाव छ। ‘मान्छेहरु अर्काको देशमा जानका लागि लाखौँ रूपैयाँ खर्च गरेर पनि विदेशी भाषा सिक्छन्। त्यस्ता मान्छेहरुले आफ्नै भाषाको ज्ञान राख्न जरूरी छ’, उनले भने, ‘विदेश जानका लागि सिकेको जस्तै इच्छाशक्ति भए जस्तोसुकै भाषा पनि सिक्न सकिन्छ।’

तमू ह्युल छोंज धीं बागमती प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य गणेशबहादुर गुरूङले नेपाली युवाहरु विदेश जाने परम्पराले गर्दा भाषालाई पुस्तान्तरण गर्न चुनौतीपूर्ण बनेको बताए। बूढापाकाले बोल्ने भए पनि युवापुस्ता देशमा नबस्दा त्यसभन्दा तलको पुस्ताले भाषा जान्ने मौका नै नपाएको उनले बताए। ‘भाषा भनेको हाम्रो पहिचान हो, यही भाषाले गर्दा जुनसुकै समुदायमा पनि हाम्रो पहिचान झल्किन्छ’, उनले भने।

तमू ह्युल छोंज धीं केन्द्रीय अनुगमन समितिका सदस्य पदमबहादुर गुरूङले विश्वमा आदिवासी जनजाति समुदायले बोल्ने सात हजार भाषामध्ये गुरूङ भाषा पनि एक प्रमुख भाषा भएको बताए। ‘भाषाको महत्त्व कहाँ र कस्तो अवस्थामा आवश्यक पर्छ भन्ने कुरा त भोग्नेलाई थाह हुन्छ’, उनले भने, ‘जान्नेका लागि आवश्यकता महसुस नभए पनि नजान्नेका लागि नभई नहुने विषय हो।’

तमू ह्युल छोंज धीं चितवनले भदौ २९ गतेदेखि दोस्रो चरणको भाषा कक्षा सञ्चालन गरेको थियो। जिल्लाले सञ्चालन गरेको भाषा कक्षालाई समय व्यवस्थापन गरेर पालिका तहमा पनि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको तमू ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। ‘कहाँ आवश्यकता छ त्यहाँ हामी भाषा कक्षा लिएर पुग्छौँ’, उनले भनिन्, ‘किनकि चितवनमा बस्ने तमू समुदायलाई भाषामा प्रशिक्षित गराउनु हाम्रो कर्तव्य हो।’

तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङको संयोजकत्वमा भाषा कक्षा सञ्चालन गरिएको हो।

भाषा कक्षालाई थप प्रभावकारी बनाउनका लागि यसवर्ष तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङको संयोजन तथा सचिव किशोर गुरुङको सहसंयोजनमा पत्रकार तुलमान गुरुङद्वारा सङ्कलित ‘तमू क्युई’ नामक तमू भाषाको आधारभूत ज्ञानसहितको पुस्तकसमेत प्रकाशन गरिएको थियो।

सोही पुस्तकमा आधारित रहेर पुस्तकका लेखक एवं पत्रकार तुलमान गुरूङ, तमू ह्युल चितवनकी कार्यसमिति सदस्य उमिता गुरूङ र कमला गुरूङ, तमूस्यो ह्युल छोंज धीं बागमती प्रदेशकी उपाध्यक्ष हरिमाया गुरूङ र तमूस्यो ह्युल छोंज धीं चितवनकी सचिव एवं तमू सञ्चारकर्मी सीतादेवी गुरूङले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा प्रशिक्षकहरुलाई मायाको चिनो, प्रमाणपत्र र मेडल, प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो। साथै असोज ५ गते सम्पन्न नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीं चितवनका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापनसमेत गरिएको थियो।

कार्यक्रममा बौद्ध धर्म सेवा समिति चितवनका पूर्वअध्यक्षद्वय रामकृष्ण गुरूङ र वीरसुब्बा गुरूङ, वर्तमान सचिव दलबहादुर गुरूङ, प्रशिक्षार्थी डोलबहादुर गुरूङ, तमू ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार शारदा गुरूङलगायतले मन्तव्य दिएका थिए। कार्यक्रममा तमू विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए।