गुरुङ विशेष

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार लम्जुङका आश गुरुङलाई

लम्जुङ । प्रेस काउन्सिल नेपालले (तमू) गुरुङ सञ्चारकर्मी संघ (एट्जोन) नेपालका पूर्वकेन्द्रीय सदस्य आश गुरुङलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पत्रकार गुरुङलाई काठमाडौंस्थित राष्ट्रपति निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार गुरुङलाई नगद १० हजार राशिसहित उक्त पुरस्कार प्रदान गरेका हुन्।

पत्रकारिमार्फत राष्ट्रलाई पुर्‍याउँदै आएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको प्रेस काउन्सिलले जनाएको छ। लमजुङको क्व्होलासोथर गाउँपालिका वडा नं. ४, भुजुङका गुरुङ हाल लम्जुङको सदरमुकाम बेंसीशहर बसेर पत्रकारिता गर्दै आएका छन्।

२०५९ सालदेखि पत्रकारितामा सक्रिय रहेका गुरुङ हाल कान्तिपुर दैनिकका लागि लम्जुङ संवाददाताको रुपमा कार्यरत छन्। उनी लमजुङ मिडिया हाउस (लमजुङ खबर)का सञ्चालकसमेत हुन्।

प्रेस कासिन्सलले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशभरका पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ।