गुरुङ विशेष

नेपाली कराँतेमा एरिका गुरुङको सफलता

काठमाडौं । छिमेकी मुलुक चीनको हान्झाउमा जारी एसियाली कराँते च्याम्पियनसिपमा एरिका गुरुङले रजत पदक जितेर अर्को अन्तर्राष्ट्रिय पदक थपेकी छिन्। नेपाली खेलकुद क्षेत्रमा चम्किलो तारा भएर उदाएकी एरिकाले च्याम्पियनसिपमा रजत पदक जितेसँगै नेपाली कराँतेको इतिहासमा एसियन च्याम्पिएनसिपमा रजत जित्ने पहिलो खेलाडीको नाम दर्ज गरेकी छन्।

उनले एसियाडपछि खेलेका सबै खेलमा पदक जित्दै आएकी छन्। गतवर्ष चीनको हान्झाऊमा जानुअघि गुरुङसहितको राष्ट्रिय कराते टोली इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पिएनसिपमा सहभागी भएको थियो। त्यहाँ गुरुङले स्वर्ण पदक जित्दै आफ्नो क्षमता प्रस्तुत गरेकी थिइन्।

त्यसपछि अमेरिका पुगेकी उनी टेक्ससमा भएको युएस ओपन कराँते च्याम्पिएनसिपमा एउटा स्वर्ण र एउटा रजत पदक जितेर फर्किइन्। भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पिएनसिपमा स्वर्ण पदक हात पारिन्। एसियन च्याम्पिएनसिपको उपलब्धिले उनलाई लगातार पाँचौँ अन्तर्राष्ट्रिय पदक दिलाएको हो।

निरन्तर पदक जित्दै आएकी एरिका लामो इतिहास बोकेको नेपाली कराँतेमा सबैभन्दा सफल खेलाडीको परिचय बनाउन सफल भएकी छिन्।