ब्यानर

काठमाडौंमा भूगोलविद् स्वर्गीय डा हर्क गुरुङको चर्चा

काठमाडौं । स्वर्गीय डा हर्क गुरुङको १८औं स्मृति दिवसको अवसरमा तमू बौद्ध सेवा समितिले डा गुरुङको योगदानमाथि केन्द्रित रहेर अन्तरक्रिया गरेको छ। कार्यक्रममा वक्ताहरुले स्वर्गीय डा गुरुङको योगदान र प्रचार गर्नुपर्नेमा जोड दिएका थिए।

नेपालको पहिलो पर्यटनमन्त्री, भूगोलविद्, लेखक, पर्वतारोहण एवं आदिवासी जनजातिका विज्ञ स्वर्गीय डा. गुरुङले यी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

‘पछिल्ला कार्यक्रमहरुमा स्वर्गीय डा. गुरुङको स्वभाव र व्यक्तित्वलाई लिएर धेरै चर्चा भएको पाइन्छ। तर, उहाँले पर्वतारोहण, नेपालको आदिवासी जनजाति आन्दोलन, नेपालको सीमा रक्षालगायतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ, जुन अहिले पनि निक्कै सान्दर्भिक छन्’, लेखक एवं कार्यक्रममा वक्ता गुरुङ सुशान्तले भने, ‘अब उहाँको व्यक्तित्व चर्चामा भन्दा पनि उहाँको योगदानको चर्चा र प्रचार हुन आवश्यक छ।’

अन्तरक्रिया कार्यक्रममा बालकृष्ण माबुहाङ, डा. यमुना घले र रुख गुरुङले पनि स्वर्गीय डा. गुरुङको योगदानमाथि चर्चा गरेका थिए। कार्यक्रम तमू बौद्ध सेवा समितिका अध्यक्ष क्या. नारायणबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

डा हर्क गुरुङ २०६३ असोज ७ गतेका दिन (२३ सेप्टेम्बर २००६) बिहान उत्तरी ताप्लेजुङको घुन्सा भीरमा भएको हेलिकोप्टर दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा भूगोलविद् डा गुरुङसहित २४ जनाले ज्यान गुमाएका थिए।