गुरुङ विशेष

शिक्षामा तमू साँस्कृतिक प्रतिष्ठानको योगदान

२२औँ साधारणसभा पोखरामा सम्पन्न

पोखरा । तमू साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८१ को छात्रवृत्ति असोज ३ र ५ गते वितरण गर्ने तयारी गरेको छ । ग्रामीण भेगका तमू विद्यार्थीका लागि प्रदान गर्दै आएको छात्रवृत्तिमा यसपटक ८४ जना नयाँसहित १८७ जना विद्यार्थी सहभागी हुनेछन् ।

प्रतिष्ठानले विपन्न तमू विद्यार्थीको शैक्षिक उन्नतिमा टेवा पु¥याउने उद्देश्यसहित २०६६ सालदेखि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमूले जानकारी दिए । उनका अनुसार हालसम्म प्रतिष्ठानबाट ४४८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।

जापान बस्दै आएका तमू व्यक्तित्वहरूले सामाजिक कार्यमा सक्रिय हुने योजनासहित २०५८ सालमा ‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ भन्ने नारासहित स्थापना गरेको प्रतिष्ठानले नेपालमा भने पोखरामा कार्यालय स्थापना गरेर काम गर्दै आइरहेको छ । १३ वटा संस्थागत र १०७ वटा व्यक्तिगत गरी ११९ वटा शीर्षकमा स्थापित अक्षयकोषबाट प्राप्त ब्याजबाट छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए । ‘अदक्ष जनशक्तिलाई दक्ष बनाउने हाम्रो मुख्य उद्देश्य हो,’ प्रतिष्ठानका अध्यक्ष तमूले भने, ‘किनकि कुनै पनि विषयको ज्ञान लिने प्रकृया नै शिक्षा हो । त्यसकारण शिक्षा क्षेत्रमा हामीले जोड दिएका हौँ ।’

उनका अनुसार शैक्षिक क्षेत्रमात्र नभई सामाजिकसहित अन्य विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका तमू समुदायका धेरै जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यसवर्ष पनि धेरैजना पुरस्कार तथा सम्मानका भागीदार हुनेछन् ।

हाम्रा सहकर्मी एवम् तमू सञ्चारकर्मी संघ नेपाल कास्की शाखाका अध्यक्ष युगबहादुर तमूका अनुसार प्रतिष्ठानले हरेक वर्ष तमू समुदाय केन्द्रित कार्यक्रम गर्दै आएको छ । विशेष गरी शिक्षा क्षेत्रको लागि योगदान दिँदै आएको छ । तमू जातिको संस्कार तथा संस्कृति संरक्षणमा समेत प्रतिष्ठानले योगदान दिँदै आएको उनले बताए । यसैवर्ष पोखरामा तमू प्ये ल्हु संघमार्फत एक महिने छ्याँडु (सेर्गा) नाचको प्रशिक्षण दिएको थियो ।

प्रतिष्ठानका कोषाध्यक्ष श्यामबहादुर तमूका अनुसार तीन करोड १६ लाख ८८ हजार रूपैयाँ रकमबराबरको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको हो । देशभरका तमू विद्यार्थीको वास्तविकता बुझेर विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

२२औँ साधारणसभा सम्पन्न 
प्रतिष्ठानले सोमबार पोखरामा २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रतिष्ठानका पूर्व प्रथम उपाध्यक्ष एवम् वर्तमान सल्लाहकार हर्कबहादुर तमू प्रमुख अतिथि थिए । सफल पर्यटन व्यवसायी एवम् धितालकोट टुर एण्ड ट्राभल्स तथा ब्लु स्टार कार्गोका सञ्चालक, प्रबन्ध निर्देशनसमेत रहेका तमूले तमू समुदायकै लागि प्रतिष्ठानको स्थापना भएको बताए ।

संस्थाको लक्ष्यअनुसार काम गर्दै जाँदा यसले समुदायमा सकारात्मक प्रभाव पार्दै लगेको उनको भनाइ छ । ‘संस्थाले आजसम्म गर्दै आएको गतिविधिले हामीलाई गर्व महसुस गराएको छ,’ उनले भने, ‘हामीले समुदायमा अझै धेरै काम गर्नुपर्ने छ ।’

प्रतिष्ठानकी सचिव कञ्चन तमूस्योले प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर तमूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा तमू धीं नेपालका संस्थापक अध्यक्ष एवम् तथा प्रतिष्ठानका अक्षयकोषदाता कर्मा तमूस्यो, प्रतिष्ठानका संस्थापक एवम् सल्लाहकार, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, गण्डकी खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज तमू, तमू धीं नेपालका अध्यक्ष एवम् कास्की आवाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक हुम तमू, संस्थाका अक्षयकोषदाता संस्था तमू (गुरूङ) समाज कतारका प्रमुख संरक्षक बील तमू, संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमूलगायतले मन्तव्य राखेका थिए ।