प्रवास

बेलायतको बुद्धिष्ट गुम्बामा प्रज्ञापारमिता

बेलायत । बुद्धिष्ट गुम्बा रिडिङ युकेले पुण्य प्राप्तिको लागि एक हप्ते प्रज्ञापारमिता (ह्युमपति) सञ्चालन गरेको छ । गुम्बाका मूलगुरू खेन्पो रिम्पोछे शीर लामाको अगुवाइमा ८ जना दक्ष गुरूहरूमार्फत १६ ठेलीको प्रज्ञापारमिता सञ्चालन गरिएको हो ।

सेप्टेम्बर २ तारिखमा सुरू भएको उक्त कार्यक्रम ८ तारिखसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रज्ञापारमिताको पहिलो दिन प्रज्ञापारमिता पुस्तक दाता यौमाया गुरूङले आफ्ना स्वर्गीय पति प्रतापहिं गुरूङको स्मृतिमा बत्ती बालेर सुरू गरेको थियो ।

गुम्बाका अध्यक्ष खेमबहादुर गुरूङका अनुसार कार्यक्रमलाई सफल तुल्याउनका लागि यहाँस्थित विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले साथ दिइरहेका छन् । चियापानी, खाजा र प्रसादका लागि गुम्बाका आमाहरूले व्यवस्थापन गरिरहेका गुम्बाका अध्यक्ष गुरूङले बताए ।

कार्यक्रममा सहभागी हुनको लागि पत्राचारसँगै भाइवरसहितका सामाजिक सञ्जालमार्फत सार्वजनिकरूपमा आव्हान गरिएको उनले बताए ।

सन् २०१८ को अप्रिल २१ मा संस्था स्थापना भएपछि गुम्बा घर खरिद गरी १५ महिनाअघिदेखि सञ्चालन हुँदै आएको बुद्धिष्ट गुम्बा रिडिङ युकेले पहिलोपटक आफ्नै भवनमा प्रज्ञापारमिता आयोजना गरिएको अध्यक्ष गुरूङले बताए ।