गुरुङ विशेष

तमू बौद्धले मनायो ३५औँ वार्षिकोत्सव

काठमाडौं । तमू बौद्ध सेवा समितिले संस्थाको ३५औँ वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। सोमबार अनामनगरस्थित समितिको भवनमा भव्य कार्यक्रम गरी संस्थाको वार्षिकोत्सव मनाएको हो। समितिका संस्थापक अध्यक्ष क्याप्टेन आशबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू (गुरुङ) समुदयका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रमुख अतिथि एवम् समितिका संस्थापक अध्यक्ष गुरुङले संस्था स्थापाना गर्दाको क्षण सम्झिए। अनेक दुःखजिलो गरेर संस्था जन्माएको भन्दै त्यसपछिका समितिले पनि यो संस्थालाई दिएको साथ र संस्थाले पाएको निरन्तरताप्रति खुसी व्यक्त गरे।

तमू ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङले संस्था स्थापनाको उद्देश्य विस्तारै पूरा हुँदै गएको बताए। संसार भरका गुरुङहरु एक हुनु पर्नेमा जोड दिँदै अध्यक्ष गुरुङले आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नमा तमू बौद्ध सेवा समितिको पनि योगदान रहेको बताए। आगामी दिनमा सबै गुरुङहरुले यसलाई निरन्तरता दिँदै जानुपर्ने उनको भनाइ छ।

कार्यक्रममा समाजमा योगदान पुर्‍याउने विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई विशेष सम्मानसमेत गरिएको थियो। तमू बौद्ध सेवा समितीका अध्यक्ष क्याप्टेन नारायणबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव पुष्पबहादुर गुरुङले सञ्चालन गरेका थिए।