प्रवास

बेलायतकै उत्कृष्ट सामाजिक संस्थाको सम्मान तमुधिँ युकेलाई

लन्डन। तमु धीं यूके बेलायतको उत्कृष्ट नेपाली सामाजिक संस्थाका रूपमा सम्मानित भएको छ । नेपालब्रिटेन अनलाइन पोर्टलले आफ्नो १७औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार लन्डनमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी, गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, स्फेल्टन काउन्सिल मेयर मेड बक्स्ले संयुक्त रूपमा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा कार्यसमितिका सदस्यको उपस्थिति थियो ।

हालै लन्डनमा १५औँ नेपाली मेला भव्य रूपमा सम्पन्न गरेर तमु धीं यूकेले बेलायतस्थित नेपाली समुदायमा थप चर्चा बटुलेको थियो । सन् १९९८ मा रमेश थकाली, मीनप्रसाद गुरुङ, मीनबहादुर साइला गुरुङ, सूर्य गुरुङ, कमल गुरुङ, हिमाल गुरुङ, चन्द्र गुरुङ र हितकाजी गुरुङलागतयतको समूहले आयोजना गरेको फुटबल प्रतियोगिताको सफलताले तमु धीं यूके स्थापनाको बीजारोपण भएको थियो । त्यसताका बेलायतमा थोरै मात्र नेपाली भए पनि सबै नेपाली भेलाको भान हुन्थ्यो ।

मीनप्रसाद गुरुङको अध्यक्षतामा पहिलो कार्यसमिति गठन भयो । लगत्तै तमु धीं यूके दर्ता भयो । त्यसपछि तमु धीं यूकेले दिन दुई गुणा, रात चौ गुणा प्रगति गर्दै गयो । त्यसपछि क्रमशः मेजर डम्बर घले, मेजर लालबहादुर गुरुङ, सुवसिं गुरुङ (बीइएम),  मुक्षेत्र गुरुङ, कमल गुरुङ, सूर्यरामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजङ गुरुङ, हितकाजी गुरुङले तमु धीं यूकेलाई एकपछि अर्को उचाइमा पुर्‍याए ।

गत वर्षको २८ डिसेम्बरमा सम्पन्न अधिवेशनबाट हरि गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । तमु धीं ३ अगस्ट २००७ देखि बेलायतको च्यारिटीएबल संस्थामा दर्ता भएको छ । यसले बेलायतमा रहेका नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता गोरखा कप, नेपाली मेला, तमु ल्होछार लाइफ मेम्बर डिनर नाइट, डाक्टर हर्कचन्द्र स्मृति दिवस, तमु प्रतिष्ठान च्याटिरी, रेस फर लाइफलगायत थुप्रै च्यारिटीमूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

तमु धीं यूके, इंग्ल्यान्ड वेल्स च्यारिटी कार्यक्रममा दर्ता भएको परोपकारी संस्था हो ।