गीत–संगीत

संस्कृति जोगाउन पोखरामा छ्याँडु नृत्यको प्रशिक्षण

ल्होसारको समयमा प्रतियोगिता आयोजना गर्ने तमू धीँ नेपालको तयारी

पोखरा । तमू धीँ नेपाल केन्द्रीय युवा समितिको आयोजनामा पोखरामा भदौ ३ गतेदेखि एक महिने छ्याँडु नृत्य प्रशिक्षण शुरु भएको छ। तमू जातिको लोपोन्मुख संस्कृतिलाई युवा पुस्तासमक्ष हस्तान्तरण गराउने योजनासहित छ्याँडु नृत्यको प्रशिक्षण शुरु गरिएको हो।

युवा समितिले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षण शुरु गरेको हो। तमू धीँ नेपालको प्राङ्गणमा दैनिक ४५ जनाको उपस्तिथिमा छ्याँडु सिक्दै आइरहेका छन्। नृत्यको संरक्षणका लागि आफूहरु लागीपरेको मोहोरिया साँस्कृतिक अभियानका प्रशिक्षक कुलप्रसाद गुरुङले बताए।

तालिममा कुलप्रसादसँगै प्रेमबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, गणेशबहादुर गुरुङ, नरबहादुर गुरुङ र खड्कमान गुरुङले प्रशिक्षण दिइरहेका छन्। दैनिक २ घण्टा तालिम दिने गरिएको छ। गुरुङ समुदायले अपनाउँदै आएको छ्याँडु नृत्य लोप हुने अवस्थामा आइपुगेपछि यसलाई पुस्तान्तरण गराउनको लागि तालिम आयोजना गरिएको तमू धीँ नेपाल केन्द्रीय युवा समितिका अध्यक्ष रमेश गुरुले जानकारी दिए।

देशका विभिन्न गाउँबाट पोखरा आएर बसोबास गरेका युवाहरुलाई छ्याँडु नाच सिकाएर संस्कृति संरक्षणको प्रयास गरेर समग्र गुरुङ जातिको  पहिचान जोगाउने अभियानमा तमू धीँ नेपालको युवा समिति लागेको तमू धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुले बताए। छ्याँडु नृत्यलाई गुरुङहरुले भेगअनुसार फरकफरक भाषामा चिन्ने गरिन्छ।

यसलाई सेर्गा पनि भनिन्छ। तमू धीँ नेपालले आगामी ल्होसारमा छ्याँडु नृत्य प्रतियोगिता राखेर यसको जगेर्नामा थप टेवा पुर्‍याउने बताएको छ। यो नृत्य गुरुङ समुदायमा मृत्युपर्यन्त गरिने अर्घौंमा प्रयोग गरिन्छ।