गीत–संगीत

‘खेमराज गुरुङ ट्रष्ट’को सम्मान वरिष्ठ संगीतकार मोक्तानलाई

पुराना कलाकारलाई प्रोत्साहन, नयाँ कलाकारलाई हौसला दिने प्रयास

काठमाडौँ । स्वर्गीय गायक तथा सर्जक खेमराज गुरूङको नाममा स्थापना भएको ‘खेमराज गुरुङ ट्रष्ट’ले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई प्रदान गरेको छ।

खेमराज गुरुङको आठौँ वार्षिक पुन्यतिथिको अवसरमा आयोजित स्मृतिसभा एवम् स्रष्टा सम्मान तथा प्रतिभा पुरस्कार कार्यक्रममार्फत नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र स्वर्गीय खेमराज गुरुङकी आमा तुलसीमाया गुरुङले वरिष्ठ संगीतकर्मी मोक्तानलाई नगद ५० हजार राशिसहित सम्मान–पत्र प्रदान गरेका हुन्।

वि.सं. २०३१ सालमा अलइन्डिया रेडियो, कर्सियङबाट गीत÷संगीतको क्षेत्रमा प्रवेश गरेका मोक्तानका लोक, आधुनिक, राष्ट्रिय, भजन तथा चलचित्रका गरी तीन हजारभन्दा बढी गीत रेकर्ड भएका छन्। ‘माथि, माथि शैलुङ्गेमा’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘सुनकै भाउ छ सुन्तला भारीको’ उनीद्वारा संगीतबद्ध केही चर्चित गीतहरू हुन्।

ट्रष्टले यसअघि वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६), वरिष्ठ गायक दीप श्रेष्ठ (२०७९) र भजन शिरोमणि एवम् वरिष्ठ गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्य (२०८०)लाई प्रदान गरिसकेको छ।

यसैगरी ट्रष्टले नगद २० हजार राशिसहितको ‘प्रतिभा पुरस्कार’ भने प्रसिद्ध कवि एवं गीतकार टीका चाम्लिङलाई प्रदान गरेको छ। चाम्लिङ खेमराज गुरुङको अर्को चर्चित गीत ‘आलु तामाले’का रचनाकार हुन्। चाम्लिङकी बहिनीलाई सम्मान–पत्र र पुरस्कार रकम भारतको सिक्किम सरकारका पूर्वमन्त्री जर्गमान गुरुङले हस्तान्तरण गरे।

कवि एवम् गीतकार चाम्लिङ अस्वस्थ भएका कारण उनको सम्मान उनकी बहिनीले ग्रहण गरेकी हुन्। उनी क्यान्सरपीडित बनेका छन्। हाल उनको उपचार चलिरहेको छ।

यसअघि यो पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५), सुसन लामा (२०७६), भविन ढुङ्गाना (२०७९) र तुलसी बस्नेत (२०८०)लाई प्रदान गरिसकेको छ।

कार्यक्रममा नेपालको पहिलो ड्रमर देव राना, गायक, गायिकाहरू कुन्ती मोक्तान, राजेश पायल राई, रामकृष्ण ढकाल, संगीतकार राजु सिंहलगायतका संगीतकर्मी उपस्थित थिए।
कोभिड–१९ का कारण ट्रष्टले २०७७ र २०७८ को सम्मान तथा पुरस्कार वितरण भने स्थगित गरेको थियो।

खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको हो। ‘वारि जमुना, पारि जमुना’, ‘आलु तामाले’, ‘धरान बजार’लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक एवम् गायक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।