गुरुङ विशेष

कास्कीमा एट्जोनको तीन दिने तालिम सम्पन्न

कास्की । तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्की शाखाले सूर्यमुखी तमू समाजसँगको समन्वयमा सञ्चालन गरेको तीन दिने नागरिक पत्रकारिता तालिम सकिएको छ। पोखरा महानगरपालिका वडा नं ३०, मुसेटुँडास्थित सूर्यमुखी बहुउद्देश्यीय सामुदायिक भवन सञ्चालित उक्त तालिम सोमबार सकिएको हो।

तालिमले पछिल्लो समयको नागरिक पत्रकारिता तालिमबारे थोरै भए पनि ज्ञान बढाएको एट्जोनका कास्की शाखा अध्यक्ष युगबहादुर गुरुङले जानकारी दिए। संघले आगामी दिनमा पनि क्षमता अभिवृद्धिका लागि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिँदै जाने अध्यक्ष गुरुङले बताए।

कार्यक्रमका प्रमुख अतिथि एवम् सूर्यमुखी तमू समाजका अध्यक्ष दलबहादुर गुरुङले तीन दिने तालिमबाट तमू सञ्चारकर्मीलाई नागरिक पत्रकारितासम्बन्धी थप जानकारी मिलेको विश्वास दिलाए। समग्र पत्रकारिता क्षेत्रमा तमू समुदायको उपस्थितिलाई यस्तै कार्यक्रमले मजबुद बनाउँदै लैजाने उनको भनाइ छ।

तीन दिनसम्म सिकेको सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई उनले सुझाव दिए। तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट बिर्सना गुरुङ, निरुपा गुरुङ, गंगा गुरुङ, ओमबहादुर गुरुङ र तिलबहादुर गुरुङले आ-आफ्नो अनुभव सुनाएका थिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज_ कास्कीका अध्यक्ष पञ्चसुब्बा गुरुङ, सूर्यमुखी तमू समाजका संस्थापक अध्यक्ष प्रेमबहादुर गुरुङ, बरिष्ठ सल्लाहकार धनप्रसाद गुरुङ, आमा समिति अध्यक्ष तिलकुमारी गुरुङ, सल्लाहकार सारजन इन्जिनियर बुद्धिबहादुर गुरुङ, उपाध्यक्ष देवबहादुर गुरुङ, सचिव लोकबहादुर गुरुङ, भवन निर्माण समितिका पूर्वकोषाध्यक्ष वीरबहादुर गुरुङ, आनन्द धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष कमलसिंह गुरुङलगायतको उपस्थिति थियो।

तालिम अवधिभर उद्घोषण कला, नागरिक पत्रकारिताको महत्त्व, सामाजिक सञ्जाल व्यवस्थापन, साइबर सुरक्षा, फोटोग्राफीलगायतका विषयमा बरिष्ठ सञ्चाकर्मीहरु हुमबहादुर गुरुङ, शान्ति गुरुङ, खिमा गुरुङ, शीला गुरुङ, युगबहादुर गुरुङ र सम्राट गुरुङले प्रशिक्षण दिएका थिए।