गीत–संगीत

गीतमार्फत सूचनाले भनिन्, ‘तीजको लहर आयो बरिलै’

चितवन । नेपाली महिलाहरूको महान् पर्व तीज नजिकै आइपुग्यो । यही पर्वलाई लक्षित गर्दै चितवन उद्योग संघ महिला उद्यमी मञ्चले दोस्रो तीज विशेष मेला आयोजना गरेको छ।

उक्त कार्यक्रममा विभिन्न कलाकारहरूमार्फत तीजको भाका गाउने र नाच्ने गरिरहेका छन् । यही क्रममा आइतबार चितवनकी चेली एवम् तमू सञ्चारकर्मी सूचना गुरूङले पनि उपस्थित दर्शकलाई छमछमी नचाइन्।

उनले पुरानो तथा हालसम्म पनि उत्तिकै लोकप्रिय रहेको गीत ‘तीजको लहर आयो बरिलै’ गाइन्। उक्त गीतमा उपस्थित दर्शक छमछमी नाचेर रमाए। सँगै मञ्चमा चर्चित लोक तथा दोहोरी गायक श्याम रानामगर, गायिका पार्वती भुजेल, गायिका तथा साहित्यकार प्रमिला सानुलगायतले मञ्चमै नाचेर साथ दिए।

भरतपुर महानगरपालिका वडा नं.१३ निवासी सूचना गुरूङ सिनर्जी एफएममा कार्यरत छिन्।

उनी गायनमा पनि उत्तिकै सक्रिय छिन्। सुमधुर स्वरकी धनी सूचना गुरूङले सञ्चार कर्मसँगै गायन क्षेत्रमा समेत सम्भावना खोज्दैछिन्। उनी लोक आधुनिक सँगै तमू भाषाका गीत गाउन बढी रूचि राख्छिन्।

कार्यक्रममा सूचना गुरूङसँगै गणेश चेपाङ, पार्वती भुजेल र श्याम रानामगरले समेत प्रस्तुति दिएका थिए। श्याम रानामगर र पार्वती भुजेलले प्रत्यक्ष दोहोरी गाएर माहोललाई थप मनोरञ्जक बनाएका थिए।