गुरुङ विशेष

सेर्गा नाच र भाषा कक्षाको प्रशिक्षण गर्दै तमू प्ये ल्हु संघ चितवन

पुरानो संस्कृतिलाई पुस्तान्तरण गराउने प्रयास

चितवन । तमू प्ये ल्हु संघ चितवनले गुरूङ समुदायमा प्रचलित ‘सेर्गा नाच’को प्रशिक्षण दिने तयारी गरेको छ। संघको कार्यसमिति बैठकले लोप हुन लागेको सेर्गा नाचको प्रशिक्षण दिने निर्णय गरेको हो। सेर्गा नाचको विषयमा जानकार व्यक्तिबाट प्रशिक्षण दिइने संघका अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए। नाचको विषयमा बुझेका र विधि पुर्‍याएर काम गर्न सक्ने गुरूहरूबाट प्रशिक्षण दिइने उनको भनाइ छ।

परापूर्व कालदेखि गुरूङ समुदायले आफ्नो धर्म संस्कृतिलाई जोगाउन अर्घुमको बेला सेर्गा नाच प्रदर्शन गर्दै आएको छ। सोही संस्कृतिलाई निरन्तरता दिलाउनको लागि चितवनमा पनि सेर्गा नाच सिकाउन जरूरी भएको अध्यक्ष तमूले जानकारी दिए। प्ये ल्हु संघले यसबाहेक पनि तमू भाषा प्रशिक्षण, खेगी भेला र उद्घोषण कलासम्बन्धी तालिम दिने निर्णय गरेको छ।

पहाडबाट बसाइसराइ गरेर चितवन झरेसँगै यी सब संस्कृति लोप हुने अवस्थामा आइपुगेपछि त्यसको संरक्षणको लागि प्ये ल्हु संघले तदारूकता देखाएको उनले बताए।