प्रवास

तमू समाज युकेको सातौं कार्यसमितिको पहिलो बैठक आफ्नै भवनमा

  • नारायण गुरुङ

तमू समाज युकेले १० अगष्ट २०२४ शनिबारका दिन समाजको सातौं कार्यसमितिको पहिलो बैठक समाजको विम्ब्लीको बार्नहम पार्कस्थित आफ्नै सामुदायिक भवनमा सम्पन्न गरेको छ। समाजका अध्यक्ष श्रीमती बिन्दु घलेको अध्यक्षतामा बसेको बैठकमा समाजका कार्यसमितिका सदस्य, सल्लाहकारहरु, आमा समूहका अध्यक्ष लगायत अन्य सदस्यहरु र अन्य सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

बैठकलाई विधिवत रुपमा अगाडि बढाउन समाजका अध्यक्ष श्रीमती बिन्दु घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, पूर्वअध्यक्ष अर्जुन गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ लगायतका अन्य सदस्यहरुलाई क्रमशः आसन ग्रहण गराइएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै उपाध्यक्ष भिम बहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महासचिव शुब घलेले हेल्थ एण्ड सेफ्टीबारेमा जानकारी गराएका थिए । उनले अघिल्लो बैठकको टिप्पणी पनि पढेर सुनाएका थिए ।

त्यसपश्चात बैठक सिधै विषयवस्तुमा प्रवेश गरेका थिए । छलफल गर्ने क्रममा २५ अगष्ट २०२५ तमु धी यूकेले आयोजना गर्न गइरहेको नेपाली मेला कार्यक्रममा एउटा विधा झाँकीमा भाग लिने तर प्रतिस्पर्धामा भाग नलिने निर्णय गरियो र झाँकीमा गरिने प्रस्तुतिकरण सम्बन्धमा आवश्यक छलफल र निर्णयहरु गरेको छ ।

त्यस्तैगरी, बैठकले समाज घर जीर्णोद्धार गर्नुपर्ने बेला भएकोले विकल्पमा अर्को भवन खोज्ने निर्णय पनि गरेको छ, त्यसको लागि भविष्यमै एउटा समिति गठन गरेर काम अगाडि बढाउने निर्णय पनि गरेको छ।

बैठकले अब आउने ३१ अगष्ट २०२४ को दिन तमु समाज युके ले नेपाली महिलाहरुको लागी हरितालिका तीज मनाउने र यसलाई कसरी मनाउने भन्ने विषयमा आमा समूहले छलफल गरेर आवश्यक निर्णय गर्ने भएको छ ।

उक्त अवसरमा नै तमु समाज आमा समुह र युथ ग्रुप गठन गरेर नामहरू सार्वजनिक गरी अध्यक्ष श्रीमति बिन्दु घले र निवर्तमान अध्यक्ष श्रीमति उमा देवी गुरुङको हातबाट सम्मानित पनि गरेको छ। आमा समुहको कमिटीमा श्रीमती विमला गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ भने युथ ग्रुपमा प्रज्वल गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटी पनि गठन गरेको छ ।

कार्यक्रम सञ्चालनकै क्रममा पुरानो कमिटी अर्थात छैटौं कार्यसमितिबाट कार्यभार र अन्य चल–अचल सम्पतिहरुको कागजातहरू निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले सम्पूर्ण फेहरिस्त प्रस्तुत गर्दै सातौं कार्यसमितिको नव निर्वाचित अध्यक्ष श्रीमती बिन्दु घलेलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको साक्षी स्वरूप हस्ताक्षर गर्दै दुवै जना अध्यक्षहरुले हस्ताक्षर साटासाट गरेर सम्पूर्ण कुराहरु निवर्तमान भएका पदाधिकारीहरुलाई क्रमसः विधिवत रूपमा हस्तान्तरण गरेको छ।

त्यसपछि नयाँ कार्यसमितिका अध्यक्ष र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले पुरानो समितिका सबै पदाधिकारीहरु र सल्लाहकारहरुलाई खादा फूल पछ्यौरा साथै मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए भने नयाँ सातौं कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सल्लाहकारहरुलाई वर्तमान अध्यक्ष श्रीमती बिन्दु घलेले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

अन्तमा उपस्थित सम्पूर्ण सदस्यहरुलाई अमूल्य समय प्रदान गरी उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गरेको र अन्य धेरै कुराहरूलाई समेट्दै धन्यवाद दिँदै महासचिव सुब घलेले सञ्चालन गरेको औपचारिक कार्यक्रम समापन भएको घोषणा गरिएको थियो ।

मनोरञ्जनको कार्यक्रम अगाडि बढाउनु पूर्व समाजका आजीवन सदस्य जगदीश गुरुङ सोपाल समाजको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएकोमा बधाई तथा शुभकामना र हाल भ्रमणको क्रममा बेलायतमा रहेका विद्वानद्वय इन्द्र गुरुङ र श्रीमती राजेश्वरी गुरुङ (श्रेष्ठ) पुत्र रोनाल्ड गुरुङ र राष्ट्रिय कलाकारद्वय राजन गुरुङ र रेणुका भट्टराईलाई समाजका अध्यक्ष श्रीमती बिन्दु घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले खादा, फूल र प्रमाण पत्र प्रदान गरेर सम्मान र स्वागत गर्यो र अतिथि विद्वान इन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यबादका साथमा केही शब्दहरू राखेका थिए । त्यसपछि लोक गीत गायक गायिकाद्वय राजन गुरुङ र रेणुका भट्टराईको लोकप्रिय गीतहरूमा गीत श्रवण गर्दै नाच्दै कार्यक्रमको अन्त भएको थियो ।