ब्यानर

तमू विद्यार्थीको महाधिवेशन कात्तिकमा हुने

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय समितिले केन्द्रीय समिति विघटन गर्दै १२औँ महाधिवेशनका लागि मूल आयोजक समिति निर्माण गरेको छ । शनिबार भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले वर्तमान केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि विश्वराज गुरूङको संयोजकत्वमा ९९ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको हो । उक्त बैठकले तनहुँको सदरमुकाम दमौलीमा आउँदो कात्तिक २४ देखि २६ गतेसम्म महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज गुरूङले जानकारी दिए ।

नेपाल तमू विद्यार्थी छोँज धीँ तनहुँको व्यवस्थापनमा हुने महाधिवेशन सम्पन्न गर्न जिल्ला र प्रदेशले त्यसभन्दाअघि नै सम्मेलन गर्नुपर्नेसमेत निर्णय गरेको छ । केन्द्रीय समितिको बैठक सुरू हुनुपूर्व नेपाल तमू विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति चितवनले केन्द्रीय समितिलाई स्वागत तथा सम्मान गरेको थियो । २०५२ सालमा गठन भएको नेपाल तमू विद्यार्थी छोँज धीँको ३५ जिल्लामा शाखा विस्तार भइसकेको छ । बाँकी जिल्लाहरुमा पनि शाखा विस्तारको प्रयास भइरहेको छ ।