गीत–संगीत

घरज्वाईं फिल्म विवादः ‘रोधिं’मा अपाच्य र असभ्य दृष्य संशोधन गर्न तीन दिने अल्टिमेटम

काठमाडौं । नेपाली चलचित्र ‘घरज्वाईं’ मा समावेश गरिएको ‘रोधिं’मा रहेका आपत्तिजनक दृष्य र सम्वाद सच्याउन माग गर्दै विभिन्न गुरुङ संघसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन ।

फिल्ममा रहेका आपत्तिजनक र असभ्य दृष्य र सम्वाद हटाउन विज्ञप्तीमा तीन दिनको अल्टिमेटम दिइएको छ ।

गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान), तमू साँस्कृतिक प्रतिष्ठान नेपाल, गुरुङ साहित्यिक मञ्च नेपाल र रोधीं प्रतिष्ठान नेपालले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र निर्माण पक्षलाई यस्तो अल्टिमेटम दिएका हुन ।

गुरुङ समुदायको साँस्कृतिक मान्यता विपरितका असभ्य र अपाच्य दृष्य तथा सम्वाद चलचित्र घरज्वाईंको रोधिंको दृष्यमा रहेको उल्लेख गर्दै चलचित्रको निर्माण पक्षलाई संशोधन गर्न यसअघि नै गरिएको आग्रहलाई बेवास्ता गरिएको विज्ञप्तीमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की, चलचित्र जाँच पास समिति, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय काठमाडौं, चलचित्र विकास बोर्ड काठमाडौं, आदिवासी जनजाति चलचित्र महासंघ केन्द्रीय सचिवालय नेपाल, आदिवासी जनजाति महासंघ नेपाल र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपाललाई बोधार्थ दिँदै जारी गरिएको विज्ञप्तीमा चलचित्र निर्माण पक्षले गुरुङ समुदायको सामुदायिक भावना, मूल्य र मान्यता विपरित कार्य गरेको जिकिर गरिएको छ ।

यसका साथै तमू समाज बेल्जियमले पनि एक विज्ञप्ती जारी गर्दै चलचित्रमा रहेका गलत दृष्य र सम्वाद हटाउन चलचित्र विकाश बोर्ड र सेन्सर बोर्ड समक्ष माग गरेको छ । गुरुङ समुदायको सामाजिक थलोको रुपमा रहेको रोधिंलाई गलत अर्थ लाग्नेगरी चलचित्रमा प्रस्तुत गरिएकोमा ध्यानाकर्षण भएको समाजले जनाएको छ ।