ब्यानर

बहुप्रतिक्षत ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को दोस्रो ड्राफ्टमाथि छलफल तथा सुझाव संकलन

काठमाडौं । तमूहरुको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई समेटेर प्रकाशनको संघारमा रहेको ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को दोस्रो ड्राफ्टमाथि छलफल गरी सुझाव संकलनका कार्य सम्पन्न भएको छ ।

गुरुङ (तमू) कल्चर फोरम युकेले प्रकाशन गर्ने तयारीमा रहेको सो पुस्तकको दोस्रो ड्राफ्टमाथि छलफल गरी सरोकारवाला सबै पक्षहरूबाट सहमति जुटाउन १ दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको तमू कल्चर फोरमका निर्देशक क्या. (रि.) राजु गुरुङले जानकारी दिए । यही जेठ २७ गते आइतबार काठमाडौंमा आयोजित भौतिक तथा भर्चुअल रुपमा उपस्थित सो गोष्ठीमा तमू संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, तमू खेगीहरू, तमू बुद्धिजीवीहरूबाट सुझाव संकलन गर्ने काम भएको थियो । छलफलका क्रममा उठेका फरक मतहरूलाई सम्बोधन गर्ने उपायहरू पनि खोज्ने काम भयो ।

एक दशक अघि यस पुस्तकको अवधारणाको विजारोपण देखिका अनुभूतिहरू साझा गर्दै फरक मतहरूको यथाशक्य सम्बोधन गरेर प्रकाशन कार्य टुङ्ग्याउनका लागि सबैलाई सहमत हुन फोरमका निर्देशक क्या. (रि.) राजु गुरुङले सबैलाई आग्रह गरे । सन् २०२४ को अन्तसम्ममा पुस्तक प्रकाशन गर्ने कार्ययोजना रहेको बताए ।

तमू सम्पदा त्रिभाषीय पुस्तक भावी पुस्ताका लागि महत्वपूर्ण हुने भन्दै यसलाई छिटो भन्दा छिटो पूर्णता दिनुपर्नेमा अधिकांश सहभागीहरूको अभिव्यक्ति थियो ।  तमूहरुको लिखित दस्तावेजहरु नभएकाले यो पुस्तक प्रकाशन एउटा ऐतिहासिक कार्यको पहल भएको सहभागीहरुले बताए ।

गोष्ठीमा पुस्तकका संरक्षक नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङ, सहसंरक्षक सहप्राध्यापक नारायण ल्हेँगे, तमू अध्येता सीबी घोताने, डा. भिमसेन गुरुङ, फोरमका सहनिर्देशक क्या. (रि.) देवराज गुरुङ, तमू ह्युल छोँज धिँका अध्यक्ष कर्णबहादुर गुरुङ, तमु धिँ नेपालका  अध्यक्ष हुमबहादुर गुरुङ,  तमू प्ये ल्हु संघ नेपालका ओमबहादुर गुरुङ, तमु धिँ युकेका अध्यक्ष हरि गुरुङ, तमू लेम समाजका अध्यक्ष क्या. ओम गुरुङ, मे.(रि.) लक्ष्मीप्रसाद गुरुङ, मे. (रि.) उदय बहादुर गुरुङ, हितकाजी गुरुङ, तमू खेगीहरू लिलबहादुर गुरुङ, यारजंग गुरुङ, कुलप्रसाद गुरुङ,  गंगा बहादुर गुरुङ, सन्तोष गुरुङ, खेन्पो डा. शीर लामा, लेखकहरु  प्रा. डा. योगेन्द्र गुरुङ, डा. टेकबहादुर गुरुङ, उप प्राध्यापक शेरबहादुर गुरुङ, सुमलकुमार गुरुङ, एकेन्द्र गुरुङ, डेलमान गुरुङ, रेशम गुरुङ, तारादेवी गुरुङ, लगायतले ड्राफ्ट पुस्तकबारे संक्षेपमा सुझाव राखेका थिए । पुस्तक प्रकाशनका लागि इतिहासविद् डा. टेकबहादुर गुरुङलाई प्रधान सम्पादकको भूमिका दिइएको छ ।

कार्यक्रमलाई सञ्चारकर्मी अनिता गुरुङले सहजीकरण गरेका थिए ।