कभर स्टोरी

जनजाती महोत्सवमा गुरुङ घर हेर्नेको घुइचो बढ्यो, पच्यु गुरुद्वारा नियमित पूजापाठ र ग्रह काट्ने काम जारी

नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवको प्रमुख केन्द्र नै आदिवासी जनजातिको गाउँ बनेको छ । त्यसमा पनि गुरूङ जातिले निर्माण गरेको घरमा बढी चहलपहल हुने गरेको छ । दुरा जातिले लोप भइसकेको घुमाउने घर बनाएर बाहिरी आकर्षण बढाएको छ । तर, गुरूङको घरभित्र भने नियमित पूजापाठ गरिरहेको हुँदा महोत्सव अवलोकन गर्नेहरूको चहलपहल बढेको हो ।

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङका अनुसार घरभित्र गरिएको नियमित पूजापाठसँगै ग्रहशान्ति कार्यबाटै दैनिक भेटी संकलन हुने गरेको छ । महोत्सवको तेस्रो दिन चैत ११ गतेमात्रै ११ हजार रूपैयाँ नगद जम्मा भएको थियो । ‘सबैभन्दा कम भनेको तीन हजार एक सय रूपैयाँसम्म आम्दानी भयो,’ उनी भन्छन्, बिहीबार पनि चार हजार दुई सय रूपैयाँ संकलन भएको छ ।’

संकलित रकमलाई प्ये ल्हु संघको संस्थागत कार्यमा खर्च गरिने उनले बताए । त्यसबाहेक घर निर्माण गर्दाको मजदुरी ज्याला, घरमा प्रदर्शनमा राखिएका सामान ल्याएको यातायात खर्चलगायतमा पनि उक्त रकम खर्च गरिने उनको भनाइ छ । ‘हरेक दिन पूजापाठ गरेर बस्तुभएका प्हच्यु गुरूहरूलाई पनि दक्षिणा दिनुपर्छ,’ उनले भने, ‘त्यसको लागि हरेक दिन संकलन भएको रकमले संस्थालाई आर्थिक भार कम गराएको छ ।’

उनका अनुसार घरभित्र गुरूङमात्र नभई हरेक जातिले प्रवेश गरेर भेटी चढाउनुका साथै धर्मगुरूहरूबाट आशिष ग्रहण गर्ने गरेका छन् । ‘थाह हुनेहरूले यो त राम्रो काम हो भनेर भेटी चढाउँछन्, नबुझेकाहरूले पनि नौलो मानेर हेर्छन् र, चढाउँछन्,’ उनले भने, ‘महोत्सवका कारण हाम्रो जातिभित्र चलनचल्तीमा रहेको संस्कारलाई प्रचार गर्न सहज भएको छ ।’

महोत्सवको अन्तिम दिन अझ विशेष पूजापाठ गरेर समापन गर्ने तयारी भइरहेको उनले बताए । महोत्सवस्थलमा मगर जातिको घर पनि आकर्षक बनेको छ । महोत्सवमा दुरा, गुरूङ, मगर, थारू, तामाङ, भुजेल, दराई, कुमाल, चेपाङ, बोटे र राई जातिले परम्परागत घर बनाएका छन् । त्यही घरको पछाडि दुरा, गुरूङ र मगर जातिले आफ्नो समुदायभित्र प्रचलित मौलिक खानाका परिकारसमेत राखेर बिक्री वितरण गर्दै आएका छन् ।

महोत्सव नै आदिवासी जनजातिको संस्कृतिसँग जोडिएको हुँदा अवलोकन गर्न आउनेहरूका लागि जनजातिका परिसर नै प्रमुख आकर्षण बन्ने गरेको जनजाति परिसर निर्माण उपसमितिका संयोजक सञ्जय भुजेलले जानकारी दिए ।

कलाकारहरूद्वारा मनोरञ्जन प्रदान महोत्सवमा बिहीबार पनि ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिएका छन् । पछिल्लो समय चर्चामा रहेकी गायिका अस्मिता डल्लाकोटीसँगै गायक श्रीकृष्ण बम मल्ल र हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलले मञ्च तताएका थिए ।

साथै स्थानीय कलाकार र आदिवासी जनजातिका साँस्कृतिक प्रस्तुतिले पनि निरन्तरता पाएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरूमार्फत हरेक दिन प्रत्यक्ष दोहोरीसमेत प्रस्तुत हुँदै आएको छ । यही क्रममा शुक्रबार भने चर्चित गायिका अन्नु चौधरीसहितका कलाकारहरूले प्रस्तुति दिने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।