गुरुङ विशेष

नेपालको पहिलो पेट्रोलियम इन्जिनियर फिलिप गुरुङ

धिमा गतिमै सही नेपालमा पनि पेट्रोलियम पदार्थको खानी रहेको भन्दै खोज अनुसन्धान भैरहेको छ । तर यसका लागि दक्ष प्राविधिकहरु भने विदेशबाटै आउने गर्छन् । नेपालमा यो विषयमा पढाई नै हुँदैन । जसका कारण पेट्रोलियम इन्जिनियर उत्पादन हुने कुरै भएन । तर यही विषयमा पहिलो पटक नेपालकै पहिलो पेट्रोलियम इन्जिनियरको रुपमा फिलिप गुरुङ उदाउनुभएको छ ।

२०५२ कार्तिक ११ गते स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानमा फिलिप गुरुङ नेपालकै पहिलो पेट्रोलियम इन्जिनियरको रुपमा नेपाल आयल निगममा कार्यरत रहनुभएको छ । औपचारिक शिक्षाअन्तर्गत २०६८ सालमा नेपाल पुलिस स्कुलबाट एसएलसी उताीर्ण गर्नुभएका उहाँले २०७० सालमा गोल्डेन गेट इन्टरनेशनल कलेजबाट +२ उतीर्ण गर्नुभएको थियो भने ई.सं. २०१८ मा भारतको देहरादुनमा रहेको ग्राफिक इरा युनिभर्सिटिबाट पेट्रोलियम इन्जिनियरिङमा स्नातक तह उर्तीर्ण गर्नुभएको हो । उहाँले आयल निगममा नियुक्तपश्चात पनि अध्ययनलाई निरन्तरता दिनुभयो र आयल एण्ड ग्यास म्यानेजम्यान्टमा यनिभर्सिटी अफ पेट्रोलियम स्टडीज भारतबाट स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो ।

उहाँ नेपालकै पहिलो पेट्रोलियम इन्जिनियर भएपनि नियुक्ती भने सहज भएन । सायद नेपालमै यसको परिकल्पना कम गरेको भएर पनि यस्तो भएको हुनसक्छ । नेपाल आयल निगममा सन् २०१९ मै नियुक्त हुने प्रयास गरे पनि तात्कालिन समयमा नेपालमै पहिलो पटक पेट्रालियम विषयमा आवेदन दिएका कारणले नेपाल इन्जिनियरिङ परिषद्द्वारा प्रदान गरिने इन्जिनियरिङ्ग प्राप्त गर्न ढिलाई भयो । यसैले सो बेला उहाँले युएइस्थित पेट्रोलयम उत्खनन् सम्बन्धी कम्पनीमा करिब ७ महिना काम गरेर अनुभव बटुली फर्कनुभयो । त्यसपछि पनि सन् २०२०–२१ मा कोभिड–१९ का कारण आयल निगमले विज्ञापन प्रकाशन नगरेपछि उहाँ गाउँघरमै सामाजिक काममा अग्रसर हुनुभयो । गाउँमै मट्टिखान जेन्टलमेन क्लव स्थापना गरी आफु संस्थापक अध्यक्ष बनेर उहाँले खुलकुद सम्बन्धी कार्यहरु, फोहोर व्यवस्थापन सम्बन्धी कार्यहरु, जनचेतना सम्बन्धी कार्यहरु, साँस्कृतिक कार्यक्रमहरको आयोजना र पार्टीपौवा निर्माण जस्ता कामहरु गर्न थाल्नुभयो ।

लामो समयको अन्तरालपछि बल्ल उहाँले चाहेझै नेपाल आयल निगमले सन् २०२२ मा सहायक प्रबन्धक तहमा नियुक्त हुने गरी विज्ञापन खुलायो । त्यसपछि उहाँले पनि आवेदन दिई करिब १ वर्षको अथक प्रयास पश्चात सन् २०२३ मा लिखित र अन्तवार्ता पास गरेर उहाँ नेपालकै पहिलो पेट्रोलियम इन्जिनियरको रुपमा नियुक्त हुनुभयो ।

नेपालमै केही गर्छु भन्ने भाव उहाँमा पहिलेदेखि नै थियो । त्यसमा पनि नेपाल भित्र पेट्रोलियम पदार्थ एवं प्राकृतिक ग्याँसको अन्वेषण सरकारको प्राथमिकतामा रहेकोले उक्त क्षेत्रमा रहेको कार्यअनुभव प्रदान गर्न सकिने भएकोले पनि उहाँमा नेपालमै बसी काम गर्ने उत्सुकता रहेको थियो । यही कारणले आफुले नेपालमै रहेर काम गर्न चाहेको बताउनुभयो । कुराकानीकै क्रममा उहाँले नेपालमा हालसम्म एउटा पाइपलाइन परियोजना र एउटा ग्याँस पाइपलाइन निर्माण गर्नका लागि नेपाल सरकारले भारत सरकारसँग प्रारम्भिक सम्झौता गरिसकेको र उक्त कार्यमा आफ्नै कार्यानुभव र शैक्षिक अनुभव प्रदान गर्न सकिने भएकोले पनि उहाँले नेपालमै काम गर्न चाहनुभयो ।

नेपालमा हाल प्रतिदिन औसत ३००० कि.लि. पेट्रोलियम पदार्थहरु बिक्री भइरहेको छ । विकसित देश भएको कारणले पेट्रोलियम पदार्थको खपत बढ्दै जाने, नेपाल सरकारले चीन लगायत विभिन्न मित्र राष्ट्रको सहयोगमा विभिन्न समयमा नेपालका सम्भावित क्षेत्रमा पेट्रोलियम पदार्थको उत्खनन् सम्भावित अध्ययन तथा सर्वे कार्यहरु गर्दै आइरहेको र ग्रीन हाईड्रोजनको अन्वेषण तथा प्रयोग परीक्षणसम्बन्धी कार्यहरु सरकार तथा नेपाल आयल निगमद्वारा पनि गर्दै आइरहेकोले यो विषयमा नेपालमा अवस्था सम्भावना र चुनौती रहेको उहाँले बताउनुभयो ।