कभर स्टोरी

तमू ल्होछार : थाँसो फाल्ने, रीपा लाउने, स्यो कैँ खाने

  • मनिराज गुरुङ

गुरुङ समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो हो । यस दिन रात कटाउन गाह्रो भएर भँगेरो र फिस्टो पनि तीनपटक मुर्छा पर्छ रे । १५ पुससँगै दिन लामो हुँदै जान्छ । धर्तीमा नयाँ बोट–बिरुवा उम्रन थाल्छन् । वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसियालीमा नयाँ वर्ष मनाउने परम्परा बस्यो । अन्ततः यही परम्परा नै ल्होछार अर्थात् नयाँ वर्ष हो । र, यो नै ल्होछारबारे अहिलेसम्मको सर्वस्वीकार्य मान्यता र परिभाषा हो ।

२२ डिसेम्बरको रात पृथ्वीको उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो रात रहेको कुरा पत्ता लागिसकेको तथ्य हो । यो बेला सूर्य दक्षिण मकर रेखामाथि हुन्छ । पृथ्वीको ढल्काइअनुसार सूर्य यसरी करिब साढे २३ डिग्री दक्षिणी अक्षांशमा पर्दा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यको किरणबाट सबैभन्दा टाढा पर्छ । सूर्य प्रकाश मात्र होइन, तापको पनि मुख्य स्रोत हो । त्यसैले योबेला पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेको नेपाल मात्र होइन, चीन, भुटान, कोरियालगायतका देशमा धेरै चिसो महसुस हुन्छ । ल्होछारलाई विभिन्न नामले मनाउने पनि यिनै देशहरू हुन् । यस अर्थमा ल्होछार पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्व हो ।

नेपालमा ल्होछार मान्ने फरक–फरक जातिले तीन फरक–फरक समयमा फरक नाममा मनाउँछन् । शेर्पालगायतका केही जातिले यसलाई ‘ल्होसार’ भन्छन् । यसको उत्पत्ति शब्द तिब्बती भाषाको ‘लोसर’ हो । ल्होछारलाई नयाँ वर्षका रूपमा मनाइन्छ । गुरुङ भाषामा नयाँ बुझाउने शब्द ‘छार’ हो । त्यसैले यसलाई ल्होछार भन्ने गरिएको हो । तर केहीको तर्क छ, हरेक बाह्र वर्षमा त्यही ल्हो फिर्छ, ल्हो नयाँ हुँदैन । त्यसैले ल्होछार होइन, ल्होसार नै भन्नु पर्छ ।

गुरुङ जातिले १५ पुसमा ल्होछार मनाउँछन् । यसलाई शास्त्रीय भाषामा ‘तोला ल्होछार’ भनिन्छ । शास्त्रीय परम्पराअनुसार तोला ल्होछार पुसमै पर्ने भए पनि १५ गते नै भने नपर्न पनि सक्छ किनकि तोला ल्होछार तिथिअनुसार मनाइन्छ । तर पुस १५ को ल्होछार गुरुङ भाषामा मुख्यतः आफूलाई ‘तमू’ भनेर चिनाउने गुरुङ जातिले मनाउने भएकाले केही वर्षयता तोला ल्होछारलाई तमू ल्होछारको नामले चिनिन्छ ।

पहिले यो पर्व गण्डक क्षेत्रमा पुस १५ भनेर मनाउने गरेको थियो । गुरुङ जातिको सजातीय लमजुङको दुरा डाँडामा मुख्य बसोबास रहेको दुरा जातिले अहिले पनि ल्होछार नभनी यो पर्वलाई पुस १५ भनेरै मनाउँछन् । ल्होछार तामाङ जातिले माघ शुक्लपक्ष प्रतिपदाका दिन मनाउँछन् । त्यसलाई ‘सोनाम ल्होछार’ भनिन्छ भने फागुन शुक्लपक्ष प्रतिपदाका दिन शेर्पा जातिले मनाउने ल्होछारलाई ‘ग्याल्बो लोसार’ भनिन्छ । यद्यपि नेपालमा ल्होछार मनाउने सबैले यसलाई नयाँ वर्षकै रूपमा मनाउँछन् ।

ल्होछारसम्बन्धी किंवदन्ती

नेपालमा ल्होछार मान्ने वा मनाउने समुदाय प्रायः बौद्ध धर्मावलम्बी छन् । त्यसैले ल्होछारबारे बौद्ध धर्मसँग सम्बन्धित किंवदन्ती पनि जोडिएको छ । जसअनुसार भगवान् बुद्धले आफू महापरिनिर्वाण हुने बेला विभिन्न पशुपन्छीलाई बोलाउनुभयो । बुद्धलाई भेट्न १२ वटा विभिन्न पशु तथा पन्छी पुगे । त्यसरी बुद्धलाई भेट्न गएका सबै पशुपन्छीलाई एक–एक वर्ष सम्मान गर्ने परम्पराको थालनी भयो । ल्होछारको वर्गचक्रमा रहेका १२ विभिन्न पशुपन्छी नै महापरिनिर्वाणको समयमा बुद्धलाई भेट्न पुगेका पशुपन्छी हुन् ।

बौद्ध धर्मसँग जोडिएको यो किंवदन्ती तामाङ समुदायमा बढी प्रचलित छ । तर यस्तै किंवदन्ती चीनमा पनि रहेको पाइन्छ । तर चीनमा प्रचलित किंवदन्ती चाहिँ एक चिनियाँ बादशाहसँग जोडेको पाइन्छ । र, उक्त किंवदन्ती ती जीवजन्तुको शक्ति र चलाखीसँग जोडेको पाइन्छ । चिनियाँ किंवदन्तीअनुसार दौड प्रतियोगिता गराइएको थियो । ल्होकोरमा उल्लिखित पशुपन्छी दौडमा विजता बन्नेहरू हुन् । कथा र किंवदन्ती जे भए गुरुङ जातिले मनाउने ल्होछार लामो रातको कथासँग जोडिन्छ भने तामाङ जातिले मनाउने ‘सोनाम ल्होछार’लाई कृषकको ल्होछार भन्ने गरेको पाइन्छ । त्यस्तै शेर्पाले मनाउने ‘ग्याल्बो लोसार’लाई राजाको ल्होछार भन्ने गरेको पाइन्छ । सोनाम ल्होछार र ग्याल्बो लोसार अधिक वर्षको समयमा चाहिँ सँगै पर्छ अर्थात् ग्याल्बो ल्होसार पनि सोनाम ल्होछारकै दिन मनाइन्छ ।

ल्होछार र खगोलशास्त्र

ल्होछारमा विभिन्न १२ वटा ल्हो (वर्ग) हुन्छन्– मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग । यी पशुपन्छी तमू ल्होको वर्ग चक्रमा हुन्छ । तामाङ र शेर्पाको वर्ग चक्रमा चाहिँ गाईको सट्टा गोरु, गरुडको सट्टा गिद्ध वा ड्रागन तथा मृगको सट्टा सुँगुर हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति संस्कृतिविद् डा. जगमान गुरुङको भनाइअनुसार वर्ग चक्रमा रहेका पशुपन्छीमा थोरै भिन्नता देखिनु गुरुङ जातिमा हिन्दुकरणको प्रभाव हो । हिन्दुले गाईलाई माता मानेका छन् भने गुरुङ जातिमा सँुगुर छुन वा सुँगुरको मासु खान वर्जित छ ।

पूर्वीय दर्शन तथा हिन्दु परम्परामा राशिफल हुन्छ भने पश्चिमा परम्परामा पनि ‘जोडियक साइन’ (राशिफल) हुन्छ । हिन्दु परम्परामा नामको पहिलो अक्षरका आधारमा राशिफल निर्धारण हुन्छ भने पश्चिमा परम्परामा जन्मेको महिनाका आधारमा ‘जोडियक साइन’ निर्धारण हुन्छ । हिन्दु परम्पराको राशिफल र पश्चिमा परम्पराको ‘जोडियक साइन’ दुवै १२ वटै हुन्छन् । त्यसमा उल्लेख हुने चित्र पनि करिब मिल्दोजुल्दो छ । यता ल्होछारको वर्ग चक्रका चित्र पनि करिब–करिब मिल्दोजुल्दो नै हुन्छ । संस्कृतिविद् गुरुङको भनाइअनुसार राशिफल, ‘जोडियक साइन’ वा ल्होछारको वर्ग चक्रका चित्र आकाशमा देखिने ताराहरूको विशेष समूह (नक्षत्र) हुन् । जसको पृथ्वीमा कुनै न कुनै प्रकारको प्रभाव परेको हुन्छ ।

वर्ष गणना र वर्ग चरित्र

ल्होछार मनाउने सबै समुदायले यस वर्ष बिरालो वर्ग (हि ल्हो)लाई बिदाइ गरेर गरुड वर्ग (मुप्री ल्हो)लाई स्वागत गर्दै छन् । ल्हो मान्ने समुदायको वर्ष गणना पनि ल्होअनुसार नै हुन्छ । हरेक १२ वर्षमा ल्होको एक चक्र पूरा हुन्छ र दोहोरिन्छ । वर्ग चक्रलाई गुरुङ भाषामा ‘ल्होकोर’ भनिन्छ । आगामी १४ पुससम्म जन्मिएकाहरूको ल्हो बिरालो हुन्छ भने त्यसपछि अर्को एक वर्षभर जन्मिएकाको ल्हो गरुड हुन्छ । हिन्दु परम्परामा मेष राशिलाई पहिलो राशि मानिएजस्तै ल्होछारको वर्गचक्रमा सुरुवाती वर्ग मुसालाई मानिन्छ । चिनियाँ र तामाङ किंवदन्तीमा उल्लेख भएअनुसार पहिलो मुसा भएका थिए, त्यसैले सामान्यतः ल्हो गणना गर्दा सुरुमा मुसा ल्होबाट गन्ने चलन छ ।

हिन्दु परम्परा र आस्थाअनुसार राशिको प्रभाव मानिसको स्वभावमा पर्ने बताइन्छ । ल्होको वर्ग र वर्ग चरित्रको पनि यसरी नै विश्लेषण गरिएको हुन्छ । कुनै पनि व्यक्तिको स्वभाव तथा आनीबानीमा वर्गको प्रभाव हुने बताइन्छ । त्यसैले बाघ र बिरालो, कुकुर र बिरालो, गरुड र सर्प वर्ग भएकाहरूका बीचमा सकेसम्म वैवाहिक सम्बन्ध कायम गरिँदैन । त्यस्तै मे (तत्व)ले पनि मानिसको स्वभावमा प्रभाव पार्दछ । बाह्र ल्होले पाँच तत्वको एक चक्र पूरा गर्दा ६० वर्ष हुन्छ । त्यसैले ६० वर्षलाई विशेष मानेर ६० वर्ष भएकाहरूको आयु पूजा (क्ह्याप्सी त्हेँ) गर्ने चलन छ ।

ल्होछार भोटेको चाड

ल्होछार नेपालमा गुरुङ, तामाङ, शेर्पा, ह्याल्मो, थकालीलगायत जातिले मनाउँछन् । ल्होछार चीनको स्वशासित क्षेत्र तिब्बतमा अझ बढी धुमधामका साथ मनाइन्छ । त्यस्तै, चीन र चिनियाँहरू पुगेको संसारका विभिन्न मुलुकमा पनि चिनियाँ नयाँ वर्षका रूपमा ल्होछार भव्य रूपमा मनाइन्छ । त्यसैगरी मंगोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायत देशमा पनि ल्होछार पर्व मनाइन्छ । ल्होछारलाई पुकार्ने नाममा भने विविधता भेटिन्छ ।

गुरुङ जातिको पुख्र्यौली इतिहास तथा बसाइँ–सराइमा विद्यावारिधि गरेका डा. टेकबहादुर गुरुङका अनुसार, गुरुङ जातिको पुर्खा हजारौँ वर्षअघि चीनको ‘नासि–यि’ करिडोरहुँदै तिब्बतबाट नेपालको भूमीमा प्रवेश गरेका हुन् । गुरुङ जातिको शास्त्र ‘प्ये’मा पनि गुरुङ जाति उत्तरबाट आएको उल्लेख छ । नेपालमा ल्होछार मान्ने सबै जातिको बसाइँ–सराइ नेपालको भूमीमा उत्तरबाटै भएको करिब–करिब स्पष्ट छ । हाम्रो सामान्य बुझाइमा तिब्बत अर्थात् उत्तर हिमालपारि भनेको भोट हो । त्यसैले ल्होछारलाई कहीँ–कहीँ भोटेको चाड भनेर पनि उल्लेख गरेको पाइन्छ ।

थाँसो फाल्ने विधि

१५ पुस नयाँ वर्षको पहिलो दिन हो । त्यसैले १५ पुसको दिन आपसमा शुभकामना साटासाट गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, मीठो–मसिनो खाने गरिन्छ । यो सामान्य परम्परा र प्रक्रिया हो । १४ पुसको रातलाई अघिल्लो र पछिल्लो कुनै पनि दिनमा गणना गरिँदैन । त्यसैले १४ पुसको राति जन्मिएका बच्चाको ‘ल्हो’ चमेरो राख्ने पनि चलन छ । चमेरो अर्थात् न पशु, न पन्छी । आजकल भने मध्यरातअघि र पछिको समयअनुसार ‘ल्हो’ राख्ने चलन छ ।

ल्होछारको मौलिक परम्पराको कुरा गर्दा शास्त्रीय कार्य अर्थात् गुरुङ पुरोहित (तमू खेगी)हरूले गर्ने मुख्य कार्य १४ पुुसको राति हुन्छ । १४ पुसको मध्यरातमा थाँसो फाल्ने (दोष मन्साउने वा पन्छाउने) काम हुन्छ । यो कार्य तमू खेगीले गर्छन् । यसका लागि कोदोको पिठो ठिक्क तातो पानी हालेर मुछिन्छ । कहीँ–कहीँ ढिँडो पकाएकै रूपमा पकाउने चलन पनि छ । त्यो ढिँडोको डल्लोबाट १२ वटै ल्होको प्रतिमूर्ति अर्थात् कैँदु बनाइन्छ । ती कैँदुलाई मान्द्रो वा भकारीको टुक्रामा राखिन्छ । यसलाई ‘था’ अर्थात् दोष भनिन्छ । नजिकै एउटा पाथीमा कोदो भरेर त्यसमाथि पनि अर्को कैँदु राखिन्छ, जसलाई रक्षक कैँदु भनिन्छ ।

मध्यरात हुनै लाग्दा तमू खेगीहरू पच्यु, क्लेब्री, वोन लमलगायतले थाँसो फाल्ने मन्त्र पढ्न थाल्छन्, यो मन्त्र मुखाग्र हुन्छ । त्यसैले गुरुङ जातिको वेद (प्ये)लाई थुतरी अर्थात् थुतुना (मुखमै कण्ठ भएको) वेद पनि भन्ने गरिन्छ । यद्यपि आजकल लेख्य रूपमा पनि पाइन थालेको छ । थाँसो मन्त्र पढिसकेपछि कैँदु राखिएको मान्द्रो वा भकारीको टुक्रालाई धकेलिन्छ । त्यस क्रममा कैँदुहरू दायाँ–बाँया ढल्छन् । कैँदु त्यसरी ढल्दा कुन दिशातिर वा कुन कैँदु भएकोतिर ढलेको छ, सोही आधारमा आउने वर्ष कुन वर्गलाई शुभ वा अशुभ छ हेर्ने गरिन्छ ।

रीपा लगाउने, स्यो कैँ खाने

गुरुङ जातिको उत्पत्तिको किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन् । त्यसैले ल्होछारमा थाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रीपा) लगाइदिन्छन् । रीपा बनाउन काँचो धागो प्रयोग गरिन्छ । तेल–बेसार दलेर रीपा बनाइन्छ ।

पुरुषलाई नौ र महिलालाई सात गाँठो बनाइएको रीपा लगाइदिँदा गुरुङ पुरोहितहरूले आगामी दिन राम्रो होस् भन्दै आशीर्वाद दिँदै स्याई स्याई भन्छन् । स्याई स्याई भनेको शीर उठाउने हो । यसरी शीर उठाउँदा ग्रह दशा राम्रो रहेछ भने अझ हौसला मिलोस् भनिन्छ भने नराम्रो ग्रह दशा रहेछ भने भने नराम्रो केही नहोस् भन्दै मन्साउने, पन्छाउने काम गरिन्छ । रीपा लगाइसकेपछि बल्ल ल्होछारको रमाइलो गर्ने परम्परा अर्थात् रमझम सुरु हुन्छ ।

ल्होछारको अर्को महत्वपूर्ण परम्परा स्यो कैँ÷प्रो कैँ (उठाएको भात) खानु हो । ल्होछारको दिन घर–घरबाट चामल, दाल संकलन गरेर युवायुवतीले घरबाहिर वननजिकै गएर वनभोज खान्छन् । दाल, चामल संकलन गर्ने क्रममा देउसी–भैलो खेले जस्तै घर–घरमा जाने चलन छ । जसलाई स्योँरा खेल्ने भनिन्छ । सामान्यतः स्यो कैँ खाँदा घर–घरबाट सामग्री केटीहरूले संकलन गर्ने र बजारबाट किन्नुपर्ने सामान चाहिँ केटाहरूले ल्याउने चलन छ । यस्तो खालको वनभोज अन्य समयमा पनि खाने चलन छ । तर ल्होछारमा खानेलाई मात्र स्यो कैँ भनिन्छ, जुन मौलिक परम्परा हो । आजकल स्यो कैँ खाने चलन यदाकदा मात्र पाइन्छ ।

ल्होछार र अधिकार प्राप्तिको आन्दोलन

पछिल्लो समय विश्वभर नै चाडपर्व वा यस्ता विशेष समारोहलाई अधिकार प्राप्तिको आन्दोलन वा सचेतनासँग जोड्ने गरेको पाइन्छ । नेपालमा पनि खासगरी ०४६ सालमा आएको राजनीतिक परिवर्तनपछि ल्होछारलाई गुरुङ समुदायले कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होछार मनाउनुको पछाडि पनि यही उद्देश्य लुकेको छ । अधिकार प्राप्तिका लागि दबाब दिँदै सामूहिक ल्होछार मनाउँदै जाँदा ०५८ सालमा तत्कालीन सरकारले १५ पुसमा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

०६२–६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बिचमा सार्वजनिक बिदा कटौती गरिएको थियो । तर अहिले फेरि सार्वजनिक बिदा दिन थालिएको छ ।