गीत–संगीत

सम्झनामा प्रिय सर्जक युक्त गुरुङ

  • मनिराज गुरुङ

दाइ त मेरो लाहुर जाने, म त बैनी सम्झेर रोइरने
आफ्नै घर फर्कर आउँला, सम्झी सम्झी मै चिठी पठाउँला

दैवज्ञराज न्यौपानेको शब्द रहेको यस गीतमा युक्त गुरुङले संगीत मात्र भरेनन्, स्वर पनि दिए । सावित्री शाहले स्वरमा साथ दिएको यो गीत चालिस र पचासको दशकमा रेडियो नेपालबाट सबैभन्दा बढी बज्ने गीतमा पर्दथ्यो । दसैँ–तिहार घरआँगनमै आइपुगेको बेला लाहुर गएको दाजुको अभाव र घर आउन नपाउँदा दाजुले बहिनीलाई मिस गरेको पीडा यस गीतमा उल्लेख छ ।

स्रष्टाहरू आफ्नो सिर्जनामा बाँच्ने गर्दछन् । युक्त गुरुङको भौतिक शरीर आज हामीमाझ छैन । २०६४ सालको मंसिर १ गते धुलिखेलमा शारदानगर हाइस्कुल, चितवनका पूर्वविद्यार्थीहरूको रमाइलो जमघट थियो । त्यही जमघटबाट फर्केर आउने क्रममा नयाँ बानेश्वरमा भएको गम्भीर दुर्घटनामा उहाँको चोला उड्यो । तर उनले आफ्ना सिर्जनामार्फत आज पनि हामीमाझ आफ्नो उपस्थिति जनाइरहेका छन् ।

बेलायती गोर्खा सैनिक दीर्घसिंह गुरुङका सात सन्तानमध्ये एक मात्र छोरा युक्त गुरुङको जन्म २०११ साल भदौ १६ गते भएको थियो । उनको जन्म हुँदा बाबा पेन्सन आइसक्नुभएको थियो । बाबा–आमा र माइली दिदी खेतीपातीकै काममा व्यस्त हुने । त्यसैले युक्त गुरुङलाई हेर्ने जिम्मा साइँली दिदी पीपलमायालाई थियो । युक्त नाच्न र गाउन खोज्थे । पीपलमाया केराको गुवालाई सुकेको बोक्रा बटारेर बनाइएको डोरीले बाँधेर मादल बनाइ दिन्थिन् । कित्लीको बिर्को र सिलावरको थोत्रो कचौराको झ्याली बनाइदिन्थिन् ।

युक्त गुरुङ सानैदेखि रोगी थिए, पेटको । माइली दिदी भेना ब्रुनाईमा थिए । उनी माइली दिदी भेनासँगै ब्रुनाई पुगे । उपचार भयो । त्यसपछि पनि उनी माइली दिदी भेनासँगै चितवनमा बस्न थाले । त्यसपछि युक्त गुरुङको बाबा पनि लमजुङ सल्लाबोटबाट चितवन झरे । २०३० सालमा स्कुले शिक्षा सकाएपछि युक्त काठमाडौं आए ।

माइली दिदी भेनासँगै केही समय ब्रुनाई र सिङ्गापुरमा बिताएका युक्त मादल बजाउँथे । किबोर्ड र गीतारमा पनि राम्रैसँग हात बसेको थियो । काठमाडौं आएको दोस्रो वर्षमा नै उनी रेडियो नेपालमा जोडिए । त्योबेला गीत गाउन मन पर्ने मान्छेका लागि रेडियो नेपाल भनेको तीर्थ थियो । तीर्थमा जागिरे भएसँगै उनले गायन, संगीतलाई अगाडि बढाउने मौका पाए । सुरुवाती दिनमा उनी अरुका गीतमा वाद्यवादकका रूपमा टेकमा बाजा बजाउँथे । २०३६ सालमा स्वर परीक्षा पास गरेसँगै गीत पनि गाउन र रेकर्ड गर्न थाले ।

आशामारा चुरोट थुँबरी खोसे ङोल्स्यो
तै तै ङोलो भार लइदिमो

युक्त गुरुङको आफ्नै रचना, संगीत र स्वरमा २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो नै पहिलो रेकर्डेड गुरुङ गीत हो । नारी स्वरमा शशी गुरुङले साथ दिएको यो गीत पहिलो गुरुङ गीत त हो नै सँगसँगै सम्भवतः सबैभन्दा बढी लोकप्रिय गीत पनि हो । पछि एल्बमका लागि पुनः रेकर्ड गर्दा पनि यो गीतमा युक्तलाई माया गुरुङ र उमा गुरुङले साथ दिएका छन् । युक्त गुरुङ यी र यस्तै सिर्जनाहरूमा बाँचिरहेका छन् ।

रेडियो नेपालको जागिरसँगै युक्त गुरुङको जिम्मेवारी साँझ होटल सोल्टीमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गर्नु पनि थियो । हिमालचुली कल्चर ग्रुपमार्फत लामो समय सोल्टीमा उनले सांगीतिक कोशेली पस्किए । आफ्नो पेट मात्र पालेनन्, कृष्ण गुरुङ नारायण रायमाझीलगायत दर्जनौँ प्रतिभालाई फल्ने, फुल्ने अवसर दिए । अभिभावकीय नेतृत्व गरे ।

विदेश कार्यक्रममा पनि गइरहने उनी विदेशका कार्यक्रममा पनि सिर्जनामार्फत जोडिएको साइनोका भाइ–बहिनीहरूलाई सँगसँगै अगाडि बढाए । साथी–भाइहरूबिच सधैँ प्रिय थिए । गुरुङ समाज र समुदायका लागि पनि धेरै जुत्ता फटाए । रमाइलो गर्न सधैँ अग्रसर हुने उनको सेन्स अफ ह्युमर साँच्चै नै गज्जब थियो ।

बाँचिरहेका भए आज उनको ६९औँ जन्मदिन मनाइरहेका हुन्थ्यौँ । आजबाट उनी सत्तरी लाग्थे । सर्जकको सम्पत्ति भन्नु नै उनका सिर्जनाहरू हुन् । आज उनी स–शरीर हामीमाझ छैनन् । तर उनका दर्जनौँ सिर्जना हामीसँग छन् । जसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।