कभर स्टोरी

माथिल्लो तामाकोसी सफल बनाउन खम्बाको भूमिकामा रहेका विमल गुरुङ अब दूधकोसीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा इन्जिनियर विमल गुरुङलाई पठाएको छ । प्राधिकरणको सहायक दूधकोसी जलविद्युत कम्पनी लिमिटेडमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा आयोजना प्रमुखको जिम्मेवारी तोकिएको हो ।

२६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत विकासमा काम गरेका गुरुङलाई ६३५ मेगावाटको दूधकोसीको मुख्य जिम्मेवारी तोक्नुले यो आयोजना पनि तामाकोसी जस्तै सफल बन्छ भनेर ढुक्क हुने संकेत देखिएको छ । यसलाई निर्माणको चरणमा पुर्याउन आफू कटिबद्ध भएर लाग्ने उनले बताएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीमा अध्ययनको चरणदेखि नै जोडिएका गुरुङ नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा अब्बल मानिन्छन् । तामाकोसीको निर्माणका क्रममा आएका विभिन्न अप्ठ्यारा समस्या समाधान गर्ने, स्थानीयवासीसँग समन्वय गर्ने, राजनीतिक दलका नेता कार्यकर्तालाई आयोजनाको महत्वका विषयमा बोध गराउने तथा प्रशासनिक निकायसँग समन्वय गरी द्रुत गतिमा काम गर्ने सन्दर्भमा उनले उल्लेख्य भूमिका खेलेका थिए ।

स्थानीयवासीको असहमति तथा राजनीतिक दलका नेता कार्यकर्ताको अनेक माग सम्बोधन गर्ने सन्दर्भमा पनि तामाकोसीको नेतृत्वलाई अप्ठ्यारो पर्दा उनै गुरुङ अगाडि उभिएर निकास खोज्ने प्रयास गर्ने गर्थे । तामाकोसी आयोजना पूरा हुनुमा एउटा इन्जिनियर, व्यवस्थापक तथा सहयोगीको रूपमा उनले खेलेको भूमिका विशेष स्मरण गर्ने गरिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट इन्जिनियरिङ गरेका उनी सन् १९९७ देखि जलविद्युत विकासमा जोडिँदै आएका छन् । नर्वे, जापान, चीन लगायत देशमा जलविद्युत विकासम्बन्धी विविन्न अन्तर्राष्ट्रिय तालिम हासिल गरेका गुरुङका देश तथा विदेशका जर्नलहरूमा अनुसन्धानमूलक आलेखहरू समेत प्रकाशित भएका छन् ।

जलविद्युतमा योगदान

पूर्वको मनोरम जिल्ला इलाममा जन्मेका विमल गुरुङ सन् १९९७ देखि २००० सम्म १४४ मेगावाटको कालीगण्डकी ‘ए’को निर्माणमा जोडिएका थिए । त्यसपछि, ३ वर्ष अर्थात् २००३ सम्म प्राधिकरणको पहिलो सहायक कम्पनीले निर्माण थालेको २२ मेगावाटको चिलिमेमा वरिष्ठ सिभिल इन्जिनियरको रूपमा खटिए । यसपछिका दुई वर्ष भने उनले प्राधिकरणभित्रै विभिन्न भूमिका रहेर काम गरे ।

प्राधिकरणको दुई वर्षे जिम्मेवारीमा रहँदा उनी १०१ मेगावाटको तमोर–मेवा, १० मेगावाटको माथिल्लो हेवा लगायत आयोजनाको अध्ययन तथा ४०० किलोवाटको गमगाडको डिजाइन पुनरावलोकनमा खटिएका थिए । त्यसपछि उनी सम्भाव्यता अध्ययनदेखि विस्तृत डिजाइन, निर्माण र सञ्चालनसम्म झन्डै १८ वर्ष (२०७९ माघ) सम्म माथिल्लो तामाकोसीमा रहे । त्यहाँ रहँदा उनले इन्जिनियरको भूमिका मात्र निर्वाह नगरी व्यवस्थापकीय पक्षमा समेत नेतृत्वलाई विशेष सहयोग पुर्याएका थिए ।

उर्जाखबर अनलाईनबाट