कभर स्टोरी

संस्कार-संस्कृति सुधार्दै लाप्राकी, फजुल खर्च गरे कारवाही

निर्णय कार्यान्वयन नगर्नेलाई ५० देखि ६० हजारसम्म जरिवाना

  • केशव गुरुङ

गोरखा । परापूर्वकालदेखि प्रचलित संस्कृतिलाई समयानुकुल सुधार गर्न लाप्राकबासी एकजुट भएका छन् ।

संस्कृतिको नाममा हुने फजुलखर्च कटौती गर्न उनीहरु एकजुट भएका हुन् । गत शुक्रबार वडाध्यक्ष किसान गुरुङको नेतृत्वमा भएको आमभेलाले यस बिषयलाई मध्यनजर गरी बिभिन्न निर्णय समेत गरेको छ । तमु प्ये ल्हु गाउँ इकाइ समितिको प्रस्ताव अनुसार फजुल खर्च कम गराउन निर्णय भएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँका अनुसार, छेवर, अर्गुङ र जन्ती (राङ) मा गरिने अनावश्यक खर्चलाई कटौती गर्ने निर्णय गरिएको छ । छेवरमा मावलीतर्फ हक लाग्नेलाई मात्र रक्सी र रोटी दिने बास्तविक नियम भएपनि आडम्बर देखाउनेहरुले सबै नातागोतालाई दिने गर्दा खर्च बढेको उहाँले जानकारी दिनुभयो । ‘वियर लगायतका महंगा पेय पदार्थ त छँदैछ, त्यसमाथि मावलीतर्फका बुवा एवं उनका दाजुभाई परिवारलाई खसी तथा बाख्राको साँप्रा दिने प्रचलन पनि छ’, उहाँले भन्नुभयो, ‘अब सबैलाई नभई मुख्य हक लाग्ने एकजना बुवालाई मात्र दिने निर्णय गरेका छौँ ।’

रोटी र रक्सी पनि कम मात्रामा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै छेवरमा मावली पक्षका आफन्त र नाता कुटुम्व सबैलाई महंगो पर्ने टाटनको पछ्यौरा दिने प्रचलन पनि हटाउने निर्णय गरिएको छ । मुख्य हकवालाबाहेक पछ्यौरा पाउनेको संख्यामा कटौती गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । ‘पछ्यौरा दिएबापत मावलीले भाँडाकुँडा दिनुपर्ने चलन छ, अब त्यो पनि दिन नपर्ने परम्पराको थालनी गर्ने भएकाछौ,’ उहाँले भन्नुभयो ।

भेलाले छेवरमा पैसाको माला लगाइदिने प्रचलन पनि हटाउने निर्णय गरेको छ । त्यसको अलावा खाममा पैसा राखेर दिने व्यवस्था गरिएको बताइएको छ । ‘यसअघि छेवरमा बच्चालाई आफन्तहरु सबैले चाँदीको बाला लगाइदिने प्रचलन थियो । यो पनि फजुल नै हो । त्यसैले यसलाई परिमार्जन गरेर मुख्य हकवाला एकजना व्यक्तिले मात्र लगाइदिने भनेका छौ,’ वडाध्यक्ष गुरुङले भन्नुभयो । बिहेमा हुने खर्च पनि कटौती गर्ने निर्णय भएको छ । आफ्नो गच्छेअनुसार मात्र खर्च गर्न आग्रह गरिएको उहाँको भनाइ छ ।

मृत्यु संस्कार र अर्वुङमा लाग्ने खर्चमा पनि व्यापक कटौती गर्ने निर्णय भएको छ । मान्छे मरेमा आफन्तले खसी, बाख्रा, कुखुरा काटेर खुवाउने चलन यसअघि थियो । यसले गर्दा पीडामा परेका व्यक्ति झन आर्थिक भारमा पनि पर्ने हुँदा यो नियमलाई सख्त रोक लगाइएको छ ।

‘मान्छे मरेपछि सोही दिन खसी, बाख्रा, कुखुरा काटेर खुवाउने चलन अब हाम्रो गाउँमा हुने छैन । त्यो परम्परा हटाएर मृत्यु भएको तीन दिनपछि मात्र रीत अनुसारको काम गर्न भनेका छौ,’ उहाँले भन्नुभयो ।

सबैभन्दा बढी खर्च अर्वुङमा हुने गरेको भन्दै उक्त संस्कारमा हुने खर्चमा पनि व्यापक कटौती गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

परम्परागत संस्कृतिमा संशोधन सहित संरक्षण गर्दै नयाँ पुस्तामा असल र सभ्य सस्कृति हस्तान्तरण गर्नका लागि यो निर्णय गरिएको बताइएको छ ।

निर्णय कार्यान्वयन भए नभएको तमु प्ये ल्हु गाउँ इकाइ समिति र वडा कार्यालयले संयुक्त अनुगमन गर्ने बताइएको छ ।

निर्णय कार्यान्वयन नगर्नेलाई कारवाही गरिने समितिले जनाएको छ । ‘समितिमा लामा, झाँक्री, घाँटु गुरुबाहरु गरी १५ जना सदस्य छन्, समितिले वडा कार्यालयको समन्वयमा निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्नेछन्’, समितिका अध्यक्ष बिस बहादुर गुरुङले बताउनुभयो ।

निर्णय कार्यान्वयन नगर्नेले ५० देखि ६० हजारसम्म जरिवाना तिर्नुपर्ने उहाँको भनाइ छ । गुरुङ समुदायको सदियौदेखि चल्दै र मान्दै आएको संस्कार, संस्कृतिलाई समयनुकुल परिवर्तन गर्दै संरक्षण गर्नका लागि सो निर्णय गरिएको समिति प्रचारप्रसार सचिव प्रसाद गुरुङले जानकारी दिनुभयो ।