ब्यानर

भाषा संरक्षणमा जुटे चितवनका गुरूङ

  • तुलमान गुरूङ

भरतपुर । हिजो ७५ जिल्ला हुँदा ७६औँ र आज ७७ जिल्ला हुँदा ७८औँ जिल्लाको रूपमा चिनिन्छ चितवन। किनकि देशभरका मानिसले कुनै न कुनै समय चितवनमा पाइला टेकेका हुन्छन्, बसोबास गर्दै आएका छन्। विशेष गरी पहाडी क्षेत्रबाट बसाइसराइ गरेर आउने मुख्य थलो बनेको छ, चितवन।

पछिल्लो समय चितवनमा गुरूङ समुदायको बसोबास पनि बढ्दै गएको छ। स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङलगायतका जिल्लाबाट बसाइ सर्ने क्रम निरन्तर रहीरहँदा ती सबै जिल्लाका फरक फरक परिवेशका गुरूङहरूको चितवनमा भेट भएको छ।

यसरी बसाइ सरेर आएका गुरूङहरूमा भाषा हराउँदै जान थालेको छ। जसकारण तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले दुई हप्ते गुरूङ भाषा प्रशिक्षणको सुरूवात गरेर भाषा संरक्षणको नयाँ अभियान थालेको छ। पहिलो प्रयासमै जिल्लाका ५० जनाले भाषा कक्षामा सहभागीता जनाएका छन्। १६ वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी छन्।

जिल्लामा करिब एक दशकअघि विद्यार्थी लक्षित भाषा कक्षा सञ्चालन भएको थियो। तर, आम तमू समुदायको लागि सम्भवतः यस्तो कार्यक्रम भएको थिएन। केही महिनाअघि पूर्वी चितवनको राप्ती नगरपालिकामा चार दिने प्रशिक्षण सञ्चालन भएको थियो। तर, ह्युल छोँज धीँले भने समग्र जिल्ला लक्षित गरेर कार्यक्रम चलाएको हो।

हाललाई आन्तरिक स्रोत साधन जुटाएर भाषा कक्षा सञ्चालन गरिएको तमू ह्युल छोँज धीँ, चितवनका अध्यक्ष विमलादेवी गुरूङले बताउनुभयो । ‘तमूहरू कत्तिको उत्साहित हुनुहुन्छ भन्ने बुझ्नको लागि पनि भाषा कक्षाले ठूलो सहयोग दिलाएको छ,’ उहाँले भन्नुभयो, ‘माग बढी नै भएको हुँदा आगामी दिनमा यसैलाई वार्षिक कार्ययोजना बनाएर काम गर्न सकिन्छ।’

साउन २१ गतेदेखि सञ्चालित भाषा कक्षामा सवारीसाधनमा एक घण्टाभन्दा बढी समय लाग्ने ठाउँबाट समेत प्रशिक्षार्थी सहभागी हुँदै आएका छन्। ‘भाषाबारे ज्ञान नहुँदा धेरै ठाउँमा अप्ठ्यारो महसुस भएपछि भाषा सिक्ने खोजीमा थिएँ,’ लोकदोहोरी गायक कृष्ण गुरूङले भन्नुभयो, ‘ह्युल छोँज धीँले कार्यक्रम आयोजना गरेर टाढै भए पनि धाइरहेको छु।’ उहाँ भाषा सिक्नकै लागि इच्छाकामनाको कुरिनटारबाट भरतपुर आउजाउ गरिरहनुभएको छ ।

भरतपुर–१०, शिखरचोकका ७४ वर्षीय शारदा गुरूङ पनि जीवनको उत्तरार्धमा भाषा सिक्न दैनिक महाबौद्ध गुम्बा परिषर धाइरहनुभएको छ । सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ढिलै भए पनि भाषा सिक्न पाएको भन्दै यसलाई ह्युल छोँज धीँले निरन्तरता दिँदै जानुपर्ने उहाँको जोड छ । धादिङमा जन्मिएर चितवनमा हुर्कनुभएका शारदाले लामो समयदेखि ह्युल छोँज धीँको विभिन्न पदमा बसेर नेतृत्व सम्हालिसक्नुभएको छ ।

इच्छाकामनाको कुरिनटारमा जन्मिएर हाल सिमलढाप बस्दै आउनुभएका १६ वर्षीया अस्मिता गुरूङ पनि भाषा सिक्नकै लागि भरतपुर बसेर कक्षा लिइरहनुभएको छ । आफ्नो घरमा पुस्तौँदेखि भाषा नबोल्दा भाषाबारे ज्ञान शून्य भएको हुँदा भाषा सिक्ने रहर जागेको उहाँ बताउनुहुन्छ । ‘१५ दिनमा धेरै कुरा सिक्न नसके पनि भाषाबारे धेरथोर ज्ञान पाएकी छु,’ उहाँ भन्नुहुन्छ, ‘यस्तो कार्यक्रम हरेक गुरूङ बस्तीमा लैजान सके सबैले अवसरको सदुपयोग गर्न सक्थे।’

भाषा प्रशिक्षण कक्षामा नयाँदेखि पुराना पुस्तासम्मको उपस्थितिले थप हौसला मिलेको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरूङ बताउनुहुन्छ । तमूस्यो ह्युल छोँज धीँ चितवनकी पूर्वअध्यक्ष उमिता गुरूङ, वर्तमान कार्यसमितिकी सचिव सीतादेवी गुरूङ तथा तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङले भाषा कक्षामा प्रशिक्षण दिइरहुनभएको छ ।

तमूस्यो ह्युल छोँज धीँ, तमू ह्युल छोँज धीँ, भरतपुर महानगर समिति, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर समितिको सह–आयोजनामा तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको गुरूङ भाषा कक्षा प्रशिक्षण यही भदौ ३ गते सकिँदैछ।