गीत–संगीत

रीपा : माया अभिव्यक्त गर्ने होइन अनुभूत गर्ने कुरा हो

फिल्म समीक्षा

  • मनिराज गुरुङ

प्रेम साँचो मायाको अर्थ नबुझेकी एक युवती बेबीलाई एकोहोरो प्रेम गर्छ । केक लिएर बेबीलाई जन्मदिनमा सरप्राइज दिन दिन पुगेका प्रेम त्यतिबेला सरप्राइज हुन्छ, जतिबेला ‘म तिम्रो मात्र हुँ’ भन्ने बेबी प्रेमको साँचो मायालाई लत्याएर त्यही दिन अर्कैसँग मस्ती गर्न ढोकामा भोटे ताल्चा लगाएर अन्यत्र जान्छे ।

बेबीको मायामा पागल बनेका प्रेम सत्य स्वीकार गर्न तयार हुँदैनन् । मनमा छटपटी बढिरहन्छ । प्रेमलाई बेबीको माया अनि धोका पचाउन मुस्किल हुन्छ । जसका कारण उनले आफू बाँचिरहनुको औचित्य देख्दैनन् । तर उनको भौतिक संसार त्याग्ने प्रयास असफल हुन्छ । त्यसपछि सुरु हुन्छ, प्रेमलाई त्यो एकोहोरो प्रेमको ह्याङबाट बाहिर ल्याउने प्रयास । र, त्यसका सारथी बन्छन्, प्रेमकै दिदीको नर्स साथी सीमा । त्यसपछि कथाले कस्तो मोड लिन्छ । त्यसका लागि भने फिल्म हलसम्म पुग्नुपर्छ ।

प्रितमले अहिलेसम्म निर्माण गरेको, अभिनय गरेको तथा निर्देशन गरेको सबै जोड्दा यो ४९औँ चलचित्र हो । छोटो समय र थोरै लगानीमा चलचित्र निर्माण गर्नु प्रितमको विशेषता हो । त्यसैले उनका चलचित्रहरूमा धेरै पक्षमा कम्प्रोमाइज भएको स्पष्टै देखिन्छ । भन्छन्, ‘धेरै लगानी गरेर चलचित्र बनाउँदा च्यारिटी सोमा सीमित हाम्रा चलचित्रहरूलाई लगानी उठाउन पनि मुस्किल हुन्छ । त्यसैले कम्प्रोमाइज गर्ने गरेको हुँ ।’

प्रितमले रीपालाई पनि लगानीको हिसाबले महङ्गो नबनाउने सक्दो प्रयास गरेका छन् । त्यसैले कतिपय अवस्थामा कम्प्रोमाइज भएको देखिन्छ । तर कलाकारहरूको अभिनय निकै स्वभाविक लाग्छ । त्यसमा पनि मुख्य कलाकार प्रेम अर्थात् म्युजिक भिडियोका व्यस्त कलाकार आनन्द गुरुङले धेरै मिहिनेत गरेका छन् । त्यस्तै नर्स रहेकी सीमा गुरुङको अभिनय पनि निकै लोभलाग्दो छ ।

कथा सलल बगेको छ भने गीत चलचित्रको कथालाई अगाडि बढाउने गरी समावेश भएको छ । ल्होछार सेलिब्रेसनलाई अधिकार प्राप्तिको आन्दोलनसँग गज्जबले जोडेका छन् । त्यस्तै रीपा पनि सही समयमा अर्थसहित प्रयोग भएको छ । त्यसैले रीपा खोटरहित पक्कै पनि छैन तर प्रितमले रीपाको कथावस्तुलाई यसरी न्याय गरेका छन्, मानौँ चलचित्र उनको आफ्नै कथा व्यथा हो ।